• १ मंसिर २०८२, सोमबार

जेन-जेडको उभारसँगै ‘वन पिस’को स्ट्राह्याट झण्डा मेक्सिकन प्रतिरोधको प्रतीक

blog

मेक्सिको सिटी, मङ्सिर १ गते । मेक्सिकोमा बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध जेन-जेडले नेतृत्व गरेको आन्दोलन तातेसँगै राजधानीका सडकहरूमा एउटा अनौठो तर शक्तिशाली प्रतीक देखिन थाल्यो-परालको टोपी लगाएको खोपडी अङ्कित ‘वन पिस’ मङ्गा झण्डा । प्रारम्भमा कार्टुन झण्डा र राजनीतिक आन्दोलनबिचको मेल अस्वाभाविक लागे पनि युवाका लागि यो प्रतीकले गहिरो अर्थ बोकेको मानिन्छ ।

अल जजिराका अनुसार लोकप्रिय सांस्कृतिक पात्रको प्रयोग प्रदर्शनकारीले साझा मूल्य, विद्रोह र न्यायको चाहनालाई व्यक्त गर्ने माध्यम बन्न थालेको छ । विश्वभर जेन-जेड आन्दोलनमा प्रयोग हुँदै आएको समुद्री डाकू शैलीको यो खोपडी झण्डा अहिले मेक्सिकन प्रतिरोधको पहिचान जस्तै बनेको छ ।

मेक्सिको सिटीमा राष्ट्रपति क्लाउडिया सेनबाम बस्ने राष्ट्रिय दरबार वरिपरि हुड लगाएका प्रदर्शनकारीले पर्खाल भत्काएपछि अवस्था तनावग्रस्त बन्यो । दङ्गा नियन्त्रण प्रहरीसँग प्रदर्शनकारीको भिडन्त हुँदा सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरेका थिए । मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाजक्वेजका अनुसार झडपमा करिब १०० जना प्रहरी घाइते भएका छन्, जसमा ४० जनालाई अस्पताल उपचार आवश्यक परेको छ । 

साथै २० जना सर्वसाधारण पनि घाइते भएको जानकारी उहाँले स्थानीय मिडिया मिलेनियोलाई दिनुभएको छ । सुरक्षा सचिवले २० जनालाई पक्राउ गरिएको र अन्य २० जनालाई ‘प्रशासनिक अपराधका लागि सूचीकृत’ गरिएको बताउनुभयो ।

-‘वन पिस’ झण्डाको प्रतीकात्मक शक्ति-

यो झण्डा जापानी मङ्गा वन पिसका सर्जक इसिचिरो ओडाले सन् १९९७ मा सिर्जना गरेको कथाबाट आएको हो । कथा समुद्री डाकू कप्तान मङ्की डी. लुफी र उनको ‘स्ट्राह्याट’ टोलीको साहसिक यात्रामा केन्द्रित छ । स्ट्रा टोपीसहित मुस्कुराइरहेको खोपडी अङ्कित जोली रोजर झण्डालाई उनीहरूको स्वतन्त्रता, विद्रोह र स्वतःसिद्ध न्यायको प्रतीक मानिन्छ ।

प्रशंसक्हरूको दृष्टिमा यो झण्डा लुफीको सपनाको खोज, उत्पीडितको मुक्ति र निरङ्कुश शक्ति संरचनाविरुद्धको सङ्घर्षको प्रतिनिधि हो । लुफीको निडरता, असाधारण दृढता र कठिनाइलाई ‘रबरझैँ’ मोडेर पार गर्ने क्षमता युवाहरूलाई प्रेरणादायी लाग्छ ।

-विश्वव्यापी युवाआन्दोलनमा ‘वन पिस’को प्रभाव-

वास्तविक संसारमा पनि लुफीको झण्डाले भौगोलिक सीमा, भाषा र राजनीतिक सन्दर्भ पार गर्दै विश्वका युवालाई जोड्ने प्रतीकको रूप लिएको छ । सिएनएनका अनुसार इन्डोनेसिया, फिलिपिन्स, नेपालदेखि पेरिसका सडकसम्म यस झण्डाले राजनीतिक अभिव्यक्ति, असहयोग र प्रतिरोधको नयाँ पहिचान बनाइसकेको छ ।

मेक्सिकोमा यस प्रतीकको उदयले जेन-जेड आन्दोलनको स्वरूपलाई झनै स्पष्ट पारेको छ-युवा केवल असन्तुष्ट मात्र होइनन्, उनीहरू सांस्कृतिक पहिचान, लोकप्रिय प्रतीक र डिजिटल युगको भाषा प्रयोग गरेर राज्यसत्ता र व्यवस्था-विरुद्धको सङ्घर्षलाई नयाँ रूप दिइरहेका छन् । रासस/एएनआई