• २८ वैशाख २०८१, शुक्रबार

आम्दानीको राम्रो स्रोत ‘ड्रागन फ्रुट’

blog

कावासोती, असार २२ गते । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्दैगएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ लगायतका स्थानमा यसको व्यावसायिक खेती प्रारम्भ गरिएको छ ।

असार महिना किसानहरू धान रोपाइँमा व्यस्त देखिन्छन् तर कावासोती–१७ गोछडा निवासी नवराज सुवेदीलाई ड्रागन फ्रुट खेतीको रेखदेख गर्न भ्याइनभ्याइ छ ।  बोम अर्गानिक कृषि फर्मका सञ्चालक सुवेदीको दैनिकी ड्रागन फ्रुट’ खेतबारीमा बित्ने गरेको छ । बिहान उठ्ने बित्तिकै उहाँ ड्रागन फ्रुट’ खेती भएको ठाउँमा पुग्नुहुन्छ । 

महँगो फलका रूपमा चिनिएको यसको व्यावसायिक खेती गर्ने उद्देश्यकासाथ आफू लागेको उहाँले बताउनुभयो । युवाले स्वदेशमा नयाँ सम्भावना र अवसरको पहिचान गरी मेहनत गर्ने हो भने मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण आफू भएको दाबी उहाँको छ । उहाँ भन्नुहुन्छ, 'विदेशमा गर्ने मेहनत स्वदेशमा गर्ने हो भने यहाँ पनि सफल बन्न सकिन्छ ।'

अहिले धेरै युवा विदेशिने गरेकाले आफू स्वदेशमा नै बसेर कृषि व्यवसाय गर्न लागेको स्पष्ट पार्दै उहाँले आर्थिक आयआर्जनका लागि ‘ड्रागन फ्रुट’को खेती सुरु गरेको बताउनुहुन्छ । साढे चार बिघा क्षेत्रफलमा यसको खेती सुरु गर्नुभएका सुवेदीको बोम अर्गानिक कृषि फर्ममा दुई जनाले रोजगारी पाएका छन् । 

 नयाँ प्रजातिको फल भएकाले सम्भावना र बजार दुवै हुने देखेर खेती प्रारम्भ गरेको उहाँले बताउनुभयो । सामान्यतया यसको मूल्य प्रतिकिलो आठ सयदेखि एक हजार रुपियाँसम्म पर्ने गरेको छ । यसमा १३ प्रकारका पोषक तत्व हुने भएकाले स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ ।  अहिले ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुने क्रमसँगै आम्दानीको राम्रो स्रोत बन्ने गरेको कृषि ज्ञान केन्द्र कावासोती एकाइका कृषि विकास अधिकृत मीरा चौधरीले बताउनुभयो ।