• १३ पुस २०८१, शनिबार

चलचित्र समीक्षा: एउटा वैज्ञानिकको कथा ‘रकेट्री’

blog

सुकृत नेपाल

काठमाडौँ, असार २२ गते ।   चलचित्र ‘रकेट्री–द नम्बी इफेक्ट’ वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित चलचित्र हो । चलचित्र प्रदर्शनको अघिदेखि नै चर्चामा थियो । जब तपाईंले नम्बीको कथा चलचित्रमा हेर्नुहुन्छ, त्यसपछि तपाईं उनले गरेका कामहरूबाट धेरै प्रभावित हुनुहुन्छ । 

उनले रकेटलाई विज्ञानको संसारबाट देशको नाम उच्च बनाएका थिए । धेरै कठिनाइसँग जुधेर उनले रकेट इन्जिन बनाए । उनको यही कामको कारणले भू–उपग्रह प्रक्षेपण गर्न अन्य देशको भर पर्नुपरेन तर भाग्यको खेला भनौँ यी सबै कामको बदलामा उनलाई देशद्रोही घोषित गरियो र प्रहरी र जनताबाट पनि उनी अपमानित हुनुप¥यो । कलाकार आर माधवनको यो एउटा ठूलो प्रोजेक्टको चलचित्र हो । चलचित्रको निर्देशन, लेखन र स्वयं अभिनयमा समेत कलाकार माधवन नै देखिएका छन् । 

चलचित्रको सुरुवात नै नम्बीको तिरस्कार र उनलाई पक्रने कार्यबाट भएको हुन्छ । कतिपयले उनलाई झुक्याएर देशलाई धोका दिएको भन्ने झुटो मुद्दामा फसाएका हुन्छन् र त्यही मुद्दाका लागि उनले २६ वर्ष लामो लडाइँ लडेपछि न्याय पाएका हुन्छन् । सन् १९९८ मा सर्वोच्च अदालतले नम्बी नारायणलाई निर्दोष घोषित गरेको थियो तर ८० वर्षीय नम्बी अदालतको यो निर्णयबाट खुसी हुँदैनन् । आफूलाई झुटो मुद्दामा फसाएकाहरूले सजाय नपाएसम्म सन्तुष्टि नहुने उनको अडान छ । चलचित्रको अर्को रोचक पक्ष भनेको अभिनेता शाहरूख खानको पनि यसमा अभिनय हुनु हो । चलचित्रमा उनी एउटा राम्रो पत्रकारको भूमिकामा देखिएका छन् । उनले नारायणको जीवनको हरेक पक्षलाई पत्रकारिताको छायाबाट दर्शकमाझ पु¥याउन मद्दत गर्छन् । जब एउटा टीभी च्यानलमार्फत शाहरूखले नारायणको अन्तर्वार्ता लिन्छन् त्यसपछि चलचित्रको सम्पूर्ण कथा बाहिरिन्छ ।

चलचित्रको सम्पूर्ण भार माधवनको काँधमा छ, जसमा उनले आफ्नो अभिनय क्षमता शतप्रतिशत देखाएका छन्, जुन अविस्मरणीय छ । यससँगै शाहरूख खानले विशेष भूमिकामा आफ्नो छाप छाडेका छन् । साथै नम्बीको श्रीमतीको भूमिकामा मिना (सिमरन), उन्नी (साम मोहन), साराभाई (रजत कपुर), कलाम (गुलसन ग्रोवर)ले चलचित्रमा उत्कृष्ट काम गरेका छन् । डेब्यू निर्देशकका रूपमा आर माधवनले राम्रो अभिनय क्षमता देखाएका छन् कि जोकोही पनि उनको अभिनयबाट प्रभावित हुन्छन् । चलचित्रको छायाङ्कन उत्कृष्ट छ । चलचित्रले एउटा यस्तो व्यक्तिका बारेमा बताउँछ जसलाई धेरै चिनेका छैनन् तर यो चलचित्र हेरिसकेपछि धेरैले नम्बी नारायण भन्ने कस्ता वैज्ञानिक रहेछन् भन्ने अवश्य थाहा पाउँछन् ।