• १४ पुस २०८१, आइतबार

मलको सहज आपूर्ति प्राथमिकतामा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले रासायनिक मलको समस्या समाधान गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको छ ।सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, “अहिले जताततै मलको मात्र कुरा हुन्छ । सरकार, सदन, सडकसम्म मलको मात्र कुरा हुने भएकाले त्यसलाई कसरी समाधान गर्न सकिन्छ, त्यसका लागि म गृहकार्य गरेर अगाडि बढ्छु ।”

मलको अभाव रहेको चर्चा गर्दै उहाँले सबैजना गम्भीर भएर यसको समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । पहिलो चरणमा समस्याको पहिचान गर्ने र पहिचान भइसकेपछि त्यसको निराकरणका लागि उच्चस्तरबाट त्यसको समाधान गरी अगाडि बढ्ने जानकारी दिँदै उहाँले मलको समस्या समाधानका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।व्यपार घाटा कम गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै उहाँले उत्पादन वृद्धिका लागि मल, बीउ, सिँचाइ अनिवार्य सर्त हुनुपर्ने कुरामा जोड दिनुभयो । 

कृषिको व्यवसायीकरणलाई औद्योगिक विकाससँग जोडेर व्यापार घाटा कम गर्नतिर लाग्नुपर्ने उहाँले बताउनुभयो । “कृषिका धेरै उत्पादनमा आत्मनिर्भर छौँ तर त्यो व्यवस्थित नभएर नदेखिएको हो,” उहाँले भन्नुभयो ।किसानका लागि कृषि बीमाको व्यवस्था गरिएको छ तर किसानले त्यसप्रति ध्यान नदिएका कारण समयसमयमा ठूलो क्षतिको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । 

बीमामा ८० प्रतिशत अनुदान सरकारले दिएको छ तैपनि किसान त्यसप्रति आकर्षित नभएको कारण के हुन सक्छ भन्दै उहाँले कृषि बीमाप्रति किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । कृषिमा देखिएका समस्या एउटा मन्त्रीले मात्र समाधान गर्न सक्दैन, त्यसका लागि ‘टिमवर्क’ नै हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।