सिराज खान
नेपालगन्ज, कात्तिक १६ गते । दसैँतिहार र छठ मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवाहरु रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् ।
चाडपर्व सकिएपछि फेरि एक पटक नेपाली युवाहरु रोजगारीका लागि भारतका विभिन्न ठुला सहरहरुतर्फ जान थालेका हुन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौं युवा दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार चाडपर्व सकिएपछि फेरि दैनिक भारत जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । अहिले दैनिक हजारदेखि दुई हजारको हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ गइरहेको सो कार्यालयले जनाएको छ ।
अहिले सबैभन्दा बढि पन्जाब, सिमला, अहमदाबाद, हरियाणा गुजरात लगायतका स्थानहरुमा गइरहेको पाइएको छ ।
रोजगारीका लागि भारत जानेहरुमा अधिकांश २० देखि ३५ वर्षको सेरोफेरोकै युवा रहेका छन् । उनिहरुले चाडपर्वका लागि मात्रै आफ्नो देश र गाउँ घरमा फर्किनुपर्ने बाध्यता रहेको बताएका छन् ।
जाजरकोटका नरेश बहादुर सिंहले स्वदेशमा राम्रो काम नपाइएपछि बाध्य भएर भारत जान थालेको बताउनुभयो । उहाँले दसैँतिहार जस्ता चाडपर्व नआउने हो भने आफ्नो घर, गाउँ र आफन्त नै भेट्न नपाइने दुखेसो सुनाउनुभयो ।
यस्तै कामका लागि भारत जान लाग्नुभएका सल्यान शितलपाटीका रमेश विकले चाडपर्व सकिएपछि अब पेटको जोहो गर्न मुगलान जान थालेको जनाउँदै फेरी अर्को वर्षको दसैँमा फर्किने बताउनुभयो ।
सिंह र विक त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । रोजगारीका लागि भारत छिर्न नाकामा पुगेका अधिकांश युवाले देशमा रोजगारीका अवसरहरु नभएको गुनासो गर्दै अर्काको देशमा दुःख गर्न जानु परेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार आगामी केही महिनासम्म रोजगारीका लागि भारत जाने नेपाली युवाको सङ्ख्या झनझन बढ्दै जाने छ ।