विजयकुमार साह
ढल्केबर कात्तिक, १६ गते । धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजेतिर ठक्कर दिएकोे थियो ।
दुर्घटनामा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उहाँको श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ ।
घाइते हुनेमा धनबहादुरका १४ वर्षीया छोरी सितल मगर र सोही ठाउँका रमेश मगरका नौ वर्षीय छोरा रोशन मगर रहेका छन् । उहाँहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनापछि घाइतेलाई उपचारका लागि जनकपुरस्थित अस्पताल पुर्याइएको थियो । चिकित्सकले चार जनालाई मृत घोषणा गरेको र घाइते दुई जनाको उपचार जारी रहेको बताइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेकोे जनाएको छ ।