निर्माण संरचना र कलात्मक शैलीका दृष्टिकोणले सिंहदरबार सिंह जस्तै दह्रो, बलियो र आकर्षक देखिन्छ । यस दरबारमाथि विभिन्न पटक भए गरेका आगलागीका घटनाले ठुलो क्षति पु¥याए पनि पुनः उठ्ने गरेको छ । निर्माणमा युरोपेली र नेपाली कलाकृतिको मिश्रण रहेको यसलाई अद्भुत नमुना दरबार मानिएको छ । राणाकालमा बनेका अन्य दरबारभन्दा छोटो समयमा यत्तिको सुन्दर र विशाल दरबार बनाइएको थियो ।
एसियाको विशाल र भव्य, कलाकौशलको अनुपम नमुनाका रूपमा सिंहदरबारलाई लिइन्छ । काठमाडौँ उपत्यकाको मध्यभागमा करिब ३५० रोपनी जमिन चर्चेर बनाइएको यस दरबारमा कुनै बेला एक हजार सात सय कोठा र आठ वटा विशाल बैठक कक्ष रहेका थिए ।
नेपालको राजनीतिक र प्रशासनिक इतिहासको साक्षी सिंहदरबारको निर्माण जुन गतिमा गरिएको थियो त्यो अहिलेको पुस्ताका लागि एक उदाहरण मान्न सकिन्छ ।
निर्माणको करिब १२४ वसन्त पार गर्दै गर्दा सिंहदरबार फेरि नराम्रोसँग घाइते भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राज्यसत्ताको प्रवृत्तिको विरोधमा सिंहदरबारमा आगो लगाइयो ।
२००८ साल माघ ८ गते तत्कालीन विद्रोही नेता डा. केआई सिंह (कुँवर इन्द्रजित) ले एक दिन सिंहदरबार कब्जा गरेको तथ्य इतिहासका पानामा वर्णित छ । यति मात्र कहाँ हो र सिंहदरबारलाई परेको चोट, २०३० साल असार २५ गते यो भव्य दरबारको ठुलो हिस्सा खरानी भयो । त्यतिबेला आगलागीबाट सिंहदरबारका पाँच सय कोठामा क्षति पुगेको थियो ।
सालको काठ र मासलगायतका वस्तु मिसाएर गारो लगाएर निर्माण गरिएको सिंहदरबारमा लागेको आगो नियन्त्रणमा लिन नसकिएपछि नेपाली सेनाले बम विस्फोट गराई भवनलाई टुक्रयाइदिएको थियो । जसका कारण पश्चिम मोहडा अर्थात् सिंहदरबारको अगाडिको भाग जोगियो ।
सिंहदरबारलाई अर्को चोट दियो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकमा गएको भूकम्पले । भूकम्पले सिंहदरबार बस्नै नमिल्ने गरी क्षतिग्रस्त भयो । भूकम्प गएको चार वर्षपछि २०७५ सालदेखि सुरु गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘रेट्रोफिट’ गरी ८७ करोड लागतमा सिंहदरबार पुनर्निर्माण सम्पन्न ग¥यो । आफ्नो भव्यतामा पुनः मुस्कुराउन थालेको सिंहदरबारको यो खुसी धेरै समय टिकेन । भदौ २४ गते नराम्रो चोट सिंहदरबारले पाएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर (उनलाई फिस्टे महाराज पनि भनिन्थ्यो) ले करिब २५ लाख मोरुमा निर्माण गरेको भनिएको यो दरबार पछि दुई करोड मोरुमा नेपाल सरकारलाई बिक्री गरेका थिए । चन्द्रशमशेरसहितका राणा प्रधानमन्त्रीले आवास सुविधासहित प्रयोग गरेको यो प्रशासनिक भवन थापाथली दरबार, हनुमानढोका दरबार र नारायणहिटी दरबारभन्दा शक्तिशाली मानिन्थ्यो ।
सिंहदरबार २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि मात्र पूर्ण रूपमा नेपाली जनताको अधीनमा आएको थियो । प्राडा तीर्थप्रसाद मिश्रका अनुसार राणा शासन कालका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीका रूपमा होइन श्री ३ महाराजका रूपमा चिनाउने गर्थे ।
रुखो बोली र खरो स्वभाव भएका चन्द्रशमशेरले दाजु देवशमशेर प्रधानमन्त्री भएको ११४ दिनमै उनलाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए । अनुदार स्वभावका चन्द्रशमशेरले बनाएको यो दरबार वास्तुशास्त्र नमिलेको दरबार मान्ने गरिएको छ ।
ज्योतिषशास्त्र अनुसार पूर्व मोहडा भएको दरबार शक्तिशाली मानिन्छ । सूर्यको पहिलो किरण दरबारको मूलढोकामा पर्नु पर्छ भन्ने मान्यता छ तर सिंहदरबारको अग्रभाग दक्षिण–पश्चिम र पछाडिको मोहडा उत्तर पूर्वी दिशामा रहेको छ ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले यहीँ दरबारबाट महत्वपूर्ण सुधारका कामको थालनी गरेको इतिहासले सम्झाउँछ । उनले दास प्रथा र सती प्रथाको पूर्ण रूपमा उन्मूलन, नेपाली भाषाको प्रचारप्रसार गर्न गोर्खा भाषा प्रकाशनी समिति गठन, आयुर्वेद शिक्षा पढ्न सरकारी कोटामा भारत र प्राविधिक शिक्षा पढाउन जापान पठाएका थिए ।
त्यस्तै सुरुङमार्ग निर्माण, रोपवे सेवा, फर्पिङ बिजुली, चन्द्र नहर, आकाशवाणी सेवा, चिठीपत्रमा टिकट लगाउने चलन, त्रिचन्द्र सैनिक अस्पताल निर्माण गर्ने निर्णय पनि यहीँ सिंहदरबारबाट भएको थियो । युरोपेली कलाकौशल र नेपाली कालिगडका सिल्पी हातले निर्माण गरिएको सिंहदरबार अब पुनः निर्माण गर्न ५० करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
नेपाली इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाको डिजाइनले बनेको यो दरबारको नामकरण भने चन्द्रशमशेरकी कान्छी श्रीमती तोषकुमारीले बागदरबारको नक्कल गर्दै सिंहदरबार जुराएको इतिहास छ ।
सिंहदरबारको भुईंमा युरोपबाट ल्याइएको सिङ्गमरमर बिच्छयाइएको छ । झुमर तथा क्रिस्टल बत्ती, भित्तादेखि सिलिङसम्म आकर्षक पेन्टिङ, युरोपेली सोफा सेट, कुर्सी आदि सामग्रीले सजाइएको थियो सिंहदरबार ।
सिंहदरबारले अहिलेसम्म चन्द्रशमशेरसहित चार राणा प्रधानमन्त्री, प्रजातन्त्र स्थापना तथा पञ्चायत र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका गरी ५० जना प्रधानमन्त्रीलाई आफ्नो कार्यालय सञ्चालन सुविधा प्रदान गरेको छ ।
–देवबहादुर कुँवर
–युवामञ्च