• १६ कात्तिक २०८२, आइतबार

एक महिनापछि कुमाख मेलाको फोहोर व्यवस्थापन

blog

क्याप्शनः कोजाग्रत पूर्णिमा मेलाको फोहोर व्यवस्थापन गर्दै । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, कात्तिक १६ गते ।
करिब एक महिनापछि सल्यानको प्रसिद्ध कुमाख मेलाको फोहोर व्यवस्थापन गरिएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेक क्षेत्रमा कोजाग्रत पूर्णिमाको अवसरमा गत असोजमा २० र २१ गते मेला लागेको थियो । मेलापछि सङ्कलित फोहोर अहिले मात्र व्यवस्थापन गरिएको हो ।

शनिबार कुमाख गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, मेला व्यवस्थापन समिति, स्थानीय युवा समूह र अस्थायी प्रहरी चौकी चौरपानीका सुरक्षाकर्मीहरूको संयुक्त पहलमा मेलास्थल वरिपरि सरसफाइ गरिएको गाउँपालिकाले जनाएको छ ।

लागेको मेलामा हजारौँ भक्तजन र पर्यटकहरू भेला भएका थिए । तर मेलापछि सो क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा प्लास्टिक जन्य पदार्थ र अन्य फोहर जमेर वातावरणीय समस्या देखिएको थियो ।

शनिबारको अभियानमा फोहोर व्यवस्थापन, सरसफाइ गरिएको भन्दै कुमाख गाउँपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले आगामी दिनमा मेलापछि तुरुन्त सरसफाइ अभियान सञ्चालन गर्ने योजना तयार गरिएको बताउनुभयो । कुमाख लेक धार्मिक सम्पदा मात्र नभएर पर्यटकीय आकर्षण पनि भएकाले यसलाई सफा र व्यवस्थित राख्न सबैको जिम्मेवारी भएको जनाउँदै उहाँले मेलापछि फोहोर व्यवस्थापनमा ढिलाइ भए पनि आगामी वर्ष समयमै काम हुने बताउनुभयो ।

स्थानीय युवाहरूले समेत मेलापछि गरिएको सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएका थिए । उनीहरूले हरेक वर्षको मेला सकेपछि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कुमाख लेक क्षेत्र धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको संगम स्थल मानिन्छ । जिल्लाकै दोस्रो अग्लो भू–भागका रूपमा रहेको कुमाख दुई हजार ५३७ मिटरको उचाइमा छ । यहाँबाट रुकुम, रोल्पा, बाँके, जाजरकोट लगायत १५ जिल्लाका गाउँबस्ती, पहाड र फाँटहरू एकै नजरमा हेर्न सकिन्छ ।

कुमाख लेक दृश्यावलोकनको गन्तव्य र बर्सेनि हजारौं भक्तजनको आस्थाको केन्द्र पनि हो । विशेष गरेर दसैँपछि कोजाग्रत पूर्णिमा ठुलो मेला लाग्ने गर्दछ । यो मेलामा सल्यानका विभिन्न क्षेत्र र छिमेकी जिल्लाबाट पनि श्रद्धालुहरू आउने गर्दछन् । यो मेला धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण मानिन्छ । कुमाख क्षेत्र प्राकृतिक स्रोत साधनले पनि भरिपूर्ण छ । यहाँ पाइने बहुमूल्य जडीबुटीहरू, विविध वनस्पति र वन्यजन्तुहरूले यसको जैविक विविधता झल्काउँ छन् ।