• १६ कात्तिक २०८२, आइतबार

घोराही खानेपानी संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन

blog

घोराही खानेपानी उपभोक्ता एवम् सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसी ।

सन्तोष दहित
दाङ, कार्तिक १६ गते ।
घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचार भइरहेको थियो । आइतबार उपचारकै क्रममा ८० वर्षको उमेरमा उहाँको निधन भएको हो । डिसी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

‘पानी बा’ को नामबाट समेत चिनिने डिसी लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर सेवा गर्नुभएको थियो । २०५३ सालमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापना भयो । सस्था स्थापनाकालदेखि नै उक्त संस्थामा आबद्ध हुनभएको डिसी औपचारिक रूपमा भने २०५४ सालमा संस्थाको सदस्य बन्नुभएको थियो ।  दुई कार्यकाल सदस्य भएर काम गरेका उहाँ २०६० सालमा अध्यक्ष पदका लागि निर्वाचनमा होमिनुभयो । पहिलो प्रयासमै उहाँ निर्वाचित हुनुभएको थियो । त्यस बेला आफ्नै दल नेपाली कांग्रेसका नेता राजु खनाललाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसयता संस्थामा निरन्तर निर्वाचित हुँदै आउनुभएको डिसी कहिले दलले टिकट दियो, कहिले स्वतन्त्र उठ्नुभयो । २०६० र २०६६ सालमा स्वतन्त्रबाट उठ्नुभयो भने २०६३ र २०६९ मा निर्विरोध हुनुभएको थियो। पछिल्लो पटक २०७९ असारमा भएको निर्वाचनमा जितेर सातौं कार्यकाल सम्हाल्दै आउनुभएको थियो । डिसी खानेपानी संस्थासँगै विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम समेत गर्नुभएको थियो । घोराहीमा खानेपानिको सुविधा पुर्याउन देबिबहादुरको ठुलो योगदान छ ।