तिलाचन पाण्डे
तम्घास(गुल्मी),कात्तिक १६ गते । गुल्मीका सडकहरु नयाँ र सहज रुपमा यात्रा गर्न सक्ने भए पनि भाडादर भने पुरानै असुल गर्दै आएको पाइएको छ ।
जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग मदन भण्डारी राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडक स्तरउन्नतीसँगै कालोपत्रे भए पनि भाडादरमा भने परिवर्तन हुन सकेको छैन ।
कालीगण्डकी करिडोर गुल्मी खण्डको रिडीदेखि पुर्तिघाट सडक खण्ड ३५ किलोमिटर दुरीको हो । ३५ किलोमिटर दूरीको सडकमा यात्रा गर्ने यात्रुहरुले अहिले चार सय रुपियाँ भाडा तिर्नुपर्ने बाध्यता छ । सोही प्रकृतिको सडक पाल्पामा ३५ किलोमिटर दूरीको १६६ रुपियाँमा यात्रा गर्न सकिन्छ । पश्चिमाञ्चल यातायात प्रालि टिकट काउण्टर पुर्तिघाटका शङ्कर न्यौपानेले पुर्तिघाटबाट रिडीसम्मको बसको भाडादर चार सय रुपियाँ नै रहेको र सोही अनुसार टिकट काट्दै आएको बताउनुभयो । यस्तै मदन भण्डारी राजमार्गको रिडीदेखि तम्घास सडक खण्डमा ४५ किलोमिटरको ३५० रुपियाँ भाडादर रहँदै आएको छ ।
यात्रुहरु यसरी मर्कामा पर्दा पनि सरोकारवाला निकायहरु भने मौन रहेको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको सवारी यातायात तथा परिवहन ऐन २०७६ को दफा ९० मा व्यवस्था भए बमोजिम जिल्लामा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा मार्ग तथा भाडा निर्धारण सिफारिस समिति रहने व्यवस्था रहेको छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले केहीदिन भित्रैमै सरोकारवाला र यातायात कार्यालयका प्रतिनिधिबिच छलफल पश्चात भाडादर परिमार्जन गर्ने बताउनुभयो । कालीगण्डकी करिडोरमा भाडादर अधिक भएको आफूलाई पनि लागेको र जिल्लाका अन्य स्थानहरुमा पनि सडकको अवस्थामा पहिलेको तुलनामा धेरै सुधार भएकाले भाडादर समायोजन गर्ने गरी आफू लाग्ने उहाँको भनाइ छ ।