• १६ कात्तिक २०८२, आइतबार

रुकुमपूर्वमा अटो दुर्घटना : जेठानी–देउरानीको मृत्यु, पाँच घाइते

blog

अटो दुर्घटनामा परेका घाइतेलाई उद्धार गर्दै । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, कात्तिक १६ गते ।
रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते हुनु भएका छन् ।

शनिबार साँझ पौने ६ बजेको समयमा रा १ ह ६७९७ नम्बरको अटो लुगुमबाट ब्राहताल जाँदै गर्दा पञ्चासेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा भूमे–१ का ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भन्ने सबिता घर्ती भएको डीएसपी यादवले बताउनुभयो । मृत्यु हुने जेठानी–देउरानी हुन् । घटनास्थलबाट उद्धार गरी रुकुमपूर्व अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले उहाँहरुको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । दुबैको शव पोस्टमार्टमका लागि रुकुमपूर्व अस्पताल रुकुमकोटमा राखिएको ।  

यसैगरी, भूमे–१ का २६ वर्षीया प्रतिक्षा बुढा, बुढाका छोरा ११ महिनाको सुभम बुढा, २५ वर्षीया ब्युटी पुन, पुनका छोरी २ वर्षीया समृद्धि पुन र ३ वर्षीया सक्षम घर्ती घाइते हुनु भएको छ । घाइते पाँच जनाको रुकुमपूर्व अस्पतालबाट उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।  

दुर्घटनापछि फरार रहेका अटो चालक भूमे–१ लुगुमका ३० वर्षीय जोते भन्ने जोतिलाल घर्तीलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा ल्याएको छ । मध्यपहाडी लोकमार्गदेखि अटो तीन सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।