• १३ वैशाख २०८१, बिहिबार

२० जनाको क्षमता, ५४ जना कैदीबन्दी कोचाकोच

blog

जाजरकोट, असार १९ गते । जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् । 

नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या हुने गरेकोे बताउनुभयो । उहाँले भन्नुभयो, कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदा सबैभन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ ।”

जिल्ला कारागार जाजरकोटका जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताउनुभयो । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाइ छ । क्षमताभन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । साथीहरुले आलोपाले गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गर्ने बताउनुभयो । ‘कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँ समस्या भईरहेको छ, यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्नेछ शाहीको भनाइ छ ।’ 

हरेक पटक आउने प्रमुख जिल्ला अधिकारीलगायत अन्य सरोकारवालाले पहल गर्ने बताउँदै आए पनि हाल समस्या उस्तै रहेको कैदी बन्दीहरुको गुनासो छ ।


जाजरकोट कारागारमा रहेका कैदीबन्दीहरु । तस्बिरः सहदेव बस्नेत


Author

सहदेव बस्नेत