• १३ साउन २०८१, आइतबार

कोरोना जोखिम भत्ता माग

blog

लुम्बिनी समाचारदाता

लुम्बिनी, असार १९ गते । सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ताको माग गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता नपाएको र दिनुपर्ने माग गर्दै आएका स्वास्थ्यकर्मीले शुक्रबार दुई घण्टा अस्पतालको ओपीडी सेवासमेत बन्द गराएका छन् । उनीहरूले बिहान ९ देखि ११ बजेसम्म प्लेकार्ड बोकेर अस्पतालअगाडि धर्ना दिँदै ओपीडी सेवा बन्द गरेका हुन् । 

शनिबार पनि आन्दोलनलाई निरन्तरता दिँदै अस्पताल परिसरमा सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा बसी दबाब दिने र २० गतेदेखि ओपीडी सेवा पूर्ण रूपमा बन्द गर्ने कार्यक्रम रहेको कर्मचारीद्वारा गठित सङ्घर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्वास्थ्यकर्मीलाई सङ्घ सरकारले छ महिनाको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने जनाएको थियो । लुम्बिनी प्रदेश सरकारले पनि सङ्घ सरकारले जस्तै प्रदेशमा महामारीको जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने घोषणा गरेका थियो । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दासमेत भत्ता नपाएपछि बाध्य भएर आफूहरू आन्दोलनमा होमिनुपरेको स्वाथ्यकर्मीको भनाइ छ । अस्पताल विकास समितिले भने भत्ता उपलब्ध गराउनका लागि पहल भइरहेकाले आन्दोलनमा उत्रिएर सेवा प्रभावित नपार्न स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । 

भीम अस्पताल विकास समितिका अध्यक्ष कुलप्रसाद न्यौपानेले अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गरेबापतको जोखिम भत्ता उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । यसका लागि पटक–पटक पहल गरिए पनि प्रदेश सरकार र सङ्घ सरकारले अझै उपलब्ध गराएको छैन । सङ्घर्ष समितिका अध्यक्ष उपाध्यायले गत २०७८ साउनदेखि पुससम्म भत्ताबापतको एक करोड ४९ लाख ८० हजार रुपियाँ स्वास्थ्यकर्मीले पाउन बाँकी रहेको जानकारी दिनुभयो ।