• २ असार २०८१, आइतबार

कालीगण्डकी कोरिडोर अवरुद्ध

blog

तिलाचन पाण्डे

तम्घास, असार १९ गते  । पछिल्लो तीन दिनदेखि पहिरोका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखी पुर्तिघाट सडकखण्डको कनौटामा सडकमाथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । असार १६ गतेदेखि सडकमाथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । असार १५ गतेदेखि अविरल वर्षाका कारण सडकमाथिबाट पहिरो खस्न नरोकिएकोले समस्या भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो । 

पहिरोका कारण सडकको बेस नै गएकाले गाउँपालिकाबाट प्रदान गर्ने सेवामै समस्या भएको उहाँको भनाइ छ । सडक अवरुद्ध हुँदा हर्मिचौर, अर्बेनी, जयखानीका सेवाग्राही गाउँपालिकाबाट सेवा लिन वञ्चित छन् भने सवारीसाधन पनि चल्न सकेका छैनन् । सो सडक अवरुद्ध भएपछि केही स्थानीयवासी झोलुङ्गे पुलको प्रयोग गरी पर्वतको विहादी गाउँपालिका हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । कोरिडोरको बाटोमा पानी परेपछि पहिरो झर्ने समस्याले गर्दा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म कार्यालयको कामले पनि जान समस्या हुने गरेको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो ।

पहिरोका कारण पुुर्तिघाटदेखि बुटवलका लागि छुट्ने सवारीसाधन र यात्रु अलपत्र पर्ने गरेका छन् भने कार्यालयको कामले गाउँपालिकासम्म जान पनि समस्या पर्ने गरेको यात्रुले बताउँदै आएका छन् । कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले निरन्तर पहिरो झरेका कारण समस्या भएको बताउनुभयो । पहिरो झर्ने क्रम रोकिएपछि पहिरो पन्छाउने कार्य हुने उहाँको भनाइ छ । पहिरो पन्छाउनका लागि मेसिन फिल्डमै भएको उहाँको भनाइ छ ।