• १५ वैशाख २०८१, शनिबार

हराए फोहोरदानी

blog

काठमाडौँ, असार १९ गते ।  बटुवाले उत्पादन गर्ने फोहोर व्यवस्थापनका लागि प्रयोगमा ल्याइएका फोहोरदानी ‘ग्रीन गार्बेज बिन’ त्यसै हराएका छन् । बटुवाले खाएका खाजाका प्याकेट, पानीका बोतल, फलफूलका बोक्राजस्ता सामान्य फोहोर राख्न प्रयोगमा ल्याइएका त्यस्ता फोहोरदानीमा स्थानीय बासिन्दाले घरायसी फोहोर राख्ने गरेकाले तिनको प्रयोग असफल भएको हो ।

काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि नेपाल सरकारको सहयोगमा २०६७ कात्तिकमा चीनबाट चार हजार ‘ग्रीन गार्बेज बिन’ ल्याएको थियो । तर त्यस्ता फोहोरदानी अहिले सडकपेटीमा देखिँदैनन् । तिनको प्रयोग किन सफल हुन सकेन भन्ने जिज्ञासामा काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले कुन फोहोर कहाँ फाल्ने हो ? भन्ने जनचेतना अभावमा सो कार्यक्रमले यथोचित सफलता प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार ‘ग्रीन गार्बेज बिन’को प्रयोग कसरी गर्ने ? कुन फोहोर कस्तोमा राख्ने भन्ने जानकारी गराएर महानगरपालिकाले वडा कार्यालयमार्फत सडकमा राखेको थियो । चार हजार फोहोरदानीमध्ये ‘क’ वर्गका सडकमा दुई हजार पाँच सय प्रयोगमा ल्याइएको थियो । 

काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि २०६७ कात्तिकमा चीनबाट चार हजार ‘ग्रीन गार्बेज बिन’ ल्याएको थियो । 

त्यसैगरी मानिसको बढी आवतजावत हुने कलङ्की, कालीमाटी, टेकु, माइतीघर, नयाँबानेश्वर, विमानस्थल, सिनामङ्गल, पुतलीसडक, कमलादी, बालुवाटार, कान्तिपथ, दरबारमार्ग, लाजिम्पाट, लैनचौर र सोह्रखुट्टेलगायतका क्षेत्रमा यसको प्रयोग गरिएको थियो । तर अहिले ती स्थानमा एउटा पनि ‘ग्रीन गार्बेज बिन’ भेटिँदैन । वातावरण प्रमुख राईका अनुसार सडकपेटीमा राखिएका अधिकांश फोहोरदानी चोरी भइसकेका छन् । बाँकी रहेका महानगरको टेकुस्थित कार्यालयमा राखिएका छन् । हनुमानढोका र दरबारमार्गमा राखिएको भोलिपल्ट नै चोरी भएको थियो ।