• ७ कात्तिक २०८२, शुक्रबार

मदुरोको अमेरिकालाई आग्रह-‘कृपया, पागल युद्ध नगर्नुहोस् !

blog

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ।

काराकास, कात्तिक ७ गते । वासिङ्टन र काराकासबिचको बढ्दो तनावका बिच भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बिहीबार अमेरिकालाई सम्बोधन गर्दै अङ्ग्रेजी भाषामा एक निवेदन जारी गर्नु भएको छ -“कृपया, पागल युद्ध नगर्नुहोस् !”

राष्ट्रपति मदुरोको यस टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्रविरुद्ध गोप्य कारबाहीको अनुमति दिएको खुलासा भएको केही दिनमै आएको हो । अमेरिकाले हालै क्यारिबियन र प्रशान्त क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण गर्ने नाममा आफ्नो सैन्य उपस्थितिमा तीव्रता ल्याएको छ ।

मदुरोले वामपन्थी नेता र मजदुर सङ्गठनका प्रतिनिधिसँगको बैठकमा भन्नुभयो, “हो, शान्ति-सधैँ शान्ति । पागल युद्ध नगर्नुहोस्, कृपया !” संयुक्त राज्य अमेरिकाले लागु पदार्थ नियन्त्रण अभियानका लागि स्टिल्थ युद्धक विमान र नौ सेना जहाज तैनाथ गरेको जनाएको छ । 

तथापि, अमेरिकी अधिकारीहरूले हालसम्म ती कारबाही लागू पदार्थ तस्करी विरुद्धकै थिए भन्ने ठोस प्रमाण सार्वजनिक गर्न सकेका छैनन् । एएफपीका अनुसार सेप्टेम्बर २ देखि सुरु भएको अमेरिकी आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकामाथि आफ्नो शासन परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ । 

उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, सिआइए भेनेजुएलामा उपस्थित छ । उनीहरूले गोप्य अपरेसनमा संलग्न एकाइ पठाएका छन्, तर उनीहरूको कुनै पनि प्रयास असफल हुने छ ।” भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले पनि क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य तैनाथीको प्रतिक्रियामा आफ्नो तटमा आयोजित सैन्य अभ्यासको निरीक्षण गर्दै ती कारबाहीलाई ‘उत्तेजनात्मक कदम’ भएको टिप्पणी गर्नुभयो ।

यसैबिच, त्रिनिडाड एन्ड टोबागोको सरकारले एक अमेरिकी युद्धपोत अक्टोबर २६ देखि ३० सम्म यसको राजधानीमा डक हुने घोषणा गरेको छ । त्यहाँ अमेरिकी मरीन टोलीले त्रिनिडाडका सैनिकसँग संयुक्त अभ्यास गर्ने छ । अमेरिकी आक्रमणमा मारिएका दुई जना त्रिनिडाड एन्ड टोबागोका नागरिक भएको पनि पुष्टि गरिएको छ ।

गत हप्ता राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध सिआइएलाई गोप्य कारबाहीको अनुमति दिएको र भूमिगत लागु औषध गिरोहविरुद्ध आक्रमण गर्ने विचार गरिरहेको बताउनुभएको थियो । उहाँले मदुरोलाई ‘लागुऔषध गिरोहको नेतृत्वकर्ता’ भनेर आरोप लगाउनुभएको थियो । उक्त आरोपलाई मदुरोले पूर्ण रूपमा अस्वीकार गर्नु भएको छ ।

विशेषज्ञहरूले भने अन्तर्राष्ट्रिय पानीमा प्रमाणबिना घातक बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानूनविपरीत हुने चेतावनी दिएका छन् । तिनीहरूको भनाइमा, यस्तो कदमले क्षेत्रीय स्थायित्व र शान्तिमा थप अस्थिरता निम्त्याउन सक्छ । रासस/एएफपी