• ७ कात्तिक २०८२, शुक्रबार

तीन नाच संरक्षणमा तीन पुस्ता

blog

तुलसीपुर-१९, सक्राममा मयुर नाच देखाउँदै ।

गोकर्ण पौडेल 

तुलसीपुर, कात्तिक ७ गते । नेपाली समाजमा प्रचलित तीन नाचको संरक्षणमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा १९ र १८ का तीन पुस्ताले मयुर, सोरठी, सिङ्गारु नाच संरक्षणका लागि तीन पुस्ता जुटेको हो । 

नाच संरक्षणका लागि हाम्रो कला संस्कृति संरक्षण मञ्च नै स्थापना गरिएको छ । संस्थाका अध्यक्ष विभीषण रोकाले पछिल्लो पुस्तामा मयुर,सोरठी, सिङ्गारु नाच्ने कला बिर्सदै जान थालेपछि संरक्षण सुरु गरिएको बताउनुभयो । उहाँले विभिन्न चाडपर्वका साथै विभिन्न कार्यक्रम,मेला,पर्व,विवाह पूजाआजामा समेत ती नाँच देखाउँदै आएको बताउनुभयो। 

माध्यामिक विद्यालय भित्रीसक्रामका प्रधानाध्यापकसमेत रहेका रोकाले नाँच संरक्षणमा नृत्य देखाउने १४ वर्षका सौरभ रोकामगरदेखि ७० वर्षका गोवर्धन रोका क्षत्रीसमेत रहनुभएको छ। 

अघिल्लो पुस्ताले बचाउँदै आएको मयुर,सोरठी, सिङ्गारु  नृत्यलाई पछिल्लो पुस्ताले समेत अभियानमा आफूलाई सामेल गरेको छ । नृत्य गर्दै आउनुभएका ३२ वर्षीया रवि विसीले तीन वटै नाचको संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य  रहेको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले अघिल्लोे पुस्ताले संरक्षण गर्दै आएको तीन वटै नाच संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले नाचका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने बताउनुभयो । उहाँले  परम्परागत नृत्यको आफ्नो छुट्टै विशेषता भएकाले पछिल्लो पुस्तासम्म जीवित तुल्याउनका लागि पालिकाकोतर्फबाट आवश्यक सामग्री र प्रचार प्रसारमा सहयोग गर्ने बताउनुभयो ।