रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ५ गते। गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ। तिहार पर्व नजिकिएसँगै बजारमा झिनियाँ रोटीको बिक्री बढ्दै गएको छ । यतिबेला यहाँका महिला उद्यमीहरु झिनियाँ बनाएर बेच्न निकै व्यस्त देखिन्छन्।
विशेषगरी नेवार समुदायले झिनियाँ रोटी व्यावसायिक रुपमा उत्पादन गर्दै आए तापनि पछिल्लो समय अन्य समुदाय पनि झिनियाँ रोटीको व्यावसायिक उत्पादनमा आकर्षित भएको देख्न सकिन्छ। झिनियाँ रोटीको कारोबारले घर खर्चसँगै आफ्ना सन्तानलाई पढाउनुका साथै रोजगारीको समेत अवसर समेत सिर्जना भएको छ।
यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा –८ तम्घासकी यमकुमारी श्रेष्ठ झिनियाँ रोटीको कारोबारमा व्यस्त देखिनुहुन्छ। उहाँले विसं २०५९ सालदेखि व्यावसायिक रुपमा झिनियाँ रोटी उत्पादन गर्दै आउनुभएको छ । श्रेष्ठले यस वर्ष मात्र करिब १ हजार ३ सय दर्जन झिनियाँ उत्पादन गरेको सुनाउनुभयो।
तिहारको समयमा मात्र कारोबार हुने झिनियाँ रोटीको पछिल्लो समय अन्य चाडपर्व र सामाजिक समारोहमा समेत माग बढ्दैगएको छ। यसलाई सबै चाडपर्वमा पाहुनाको पाहुर बन्दै गएको उहाँले बताउनुभयो। झिनियाँ व्यवसायबाट वार्षिक दुई लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो।
त्यस्तै, रेसुङ्गा नगरपालिका –१, पुतलीबजारकी समिक्षा श्रेष्ठ झिनियाँ रोटीको कारोबारमा निकै व्यस्त देखिनुहुन्छ। झिनियाँ रोटीको कारोबारबाट करिब चार रुपियाँ बराबरको आम्दानी हुने उहाँले बताउनुभयो।
गुल्मीको विभिन्न स्थान, अर्घाखाँची र बुटवलका बजारमा बिक्रीका लागि पठाउने झिनियाँ पठाउने गरेको श्रेष्ठले सुनाउनुभयो। हाते मेसिनमार्फत झिनियाँ तयार गर्ने र प्राकृतिक घाममा सुकाउने परम्परागत विधि अपनाइएको छ।
तिहारमा झिनियाँको माग अत्यधिक हुने व्यवसायीहरुको भनाइ छ । यहाँका थुप्रैले झिनियाँ रोटी उत्पादन गरी वर्षेनी लाखौं आम्दानी गर्दै आउनुभएको छ। सदरमुकाम तम्घासको पुरानो बजार र बाघमारेका नेवार समुदायले सदियौंदेखि झिनियाँ रोटीको व्यावसायिक उत्पादन गर्दै आउनुभएको छ।