इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक ५ गते । जिल्लाको रामपुर नगरपालिका–६, तातोपानी स्थित नगर गौशालामा आज सामूहिक गोवर्धन पूजा गरिएको छ । गौशालामा स्थापना गरेको गोवर्धन पर्वतमा यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पूजा गरिएको हो ।
गौशालामा रहेका गाई, गोरुको पूजा गर्नका लागि बिहानैदेखि भक्तजनहरू गौशाला पुगेका थिए । गाईलाई छाडा छाड्ने र बेवास्ता गर्ने क्रम बढ्दै गएपछि रामपुर नगरपालिकाले गाईको संरक्षणका लागि गौशाला निर्माण गरेर २०७६ देखि सञ्चालनमा ल्याएको थियो । गौशालामा स्थापना गरिएको गोवर्धन पर्वतसँगै श्रद्धालुहरूले वैदिक विधी पूर्वक गाई पूजा गरेर २ सय १३ बढी गाईलाई सातु तथा रोटीहरू खुवाएका थिए ।
पछिल्लो समय गाई पाल्ने परम्परा हराउँदै गएकाले गोवर्धन पूजाका लागि श्रद्धालुहरू पूजा गर्न तातोपानी पुगेका थिए । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको पण्डित तुलसीराम भण्डारी बताउनुहुन्छ ।
गौशालाले दुध तथा मलका लागि गाई पाल्न इच्छुकहरूलाई निःशुल्क प्रदान गर्ने र फिर्ता गर्दा केही शुल्क लिएर ल्याउने व्यवस्था गरिएको नगर गौशालाका सचिव बासुदेव ढकालले बताउनुभयो । रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन भएको गौशालाको दिगो सञ्चालनका लागि महायज्ञ समेत गरिएको थियो ।
गौशालालाई धार्मिक पर्यटकीय स्थलको रूपमा अघि बढाउने प्रयास भैरहेको नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपाने बताउनुभयो ।
उहाँका अनुसार आज बिहान ८ बजे बाट पूजा सुरु गरिएको थियो । गौशालामा दिउँसो १२ बजे सम्म आउने जानेको भिड लागेको थियो । गोवर्धन पूजाको अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापासहित रामपुर नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दलका नेताहरू पनि गौशाला पुगेका थिए । नगर प्रमुख रमणबहादुर थापाले गौशालामा रहेका गाईहरूका लागि आवश्यक दाना तथा पराल खरिद तथा पूर्वाधार निर्माणका लागि नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।
गौशालामा पछिल्लो समय जन्मदिन तथा विशेष उत्सवमा विभिन्न स्थानबाट गाईका लागि आवश्यक दाना तथा रकम दान गर्न पुग्ने गर्दछन् । गाईहरूको हेरचाह र व्यवस्थापनका लागि नगर गौशाला समितिले पाँच जना कर्मचारी परिचालन गर्दै आएको छ । छाडा गाईलाई गौशाला लगेर व्यवस्थापन गरिएसँगै गाईको संरक्षणसँगै कृषकलाई सहज भएको छ ।