सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) कात्तिक ५ गते । तिहार झिलीमिली बत्तीकोे पर्वसँगै अर्को एक महत्त्वपूर्ण पक्ष देउसी र भैलोलाई पनि लिने गरिन्छ । तर पछिल्लो केही समय यता आधुनिक परम्परागत गीत तथा कहानीमा बनाएर नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने हराउँदै गएको पाइएको छ ।
तिहार सुरु भएसँगै गाउँ तथा बजारका टोलबस्तीमा देउसीभैलो खेल्ने समूह बालबालिकादेखि बूढापाकासम्मलाई मनोरञ्जन दिए पनि आधुनिक शैली अँगाल्दा मौलिकता भने गुम्दै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल म्यूजिकबाट नेपाली, हिन्दी आधुनिक र र्याप गीत बज्ने गरेका छन् । सोरठी, पैसेरी, मयुर, मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ । तिहारमा खेलिने देउसी भैलो मौलिकता नभइ आधुनिकता र दक्षिणाका लागि मात्रै खेल्नेको जमात बढेको स्थानिय नागरिक समाज धनकुटाका अध्यक्ष द्रार्ण गुरागाई बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, तिहार भनेको विषेशत चेली र माइतीबिचको अटुट सम्बन्धको गाठो समेत मान्ने गर्दछ । वर्षभरी गरेको कामको उल्लासमय फूलको रमझममा रमाउने देउसी भैलो खेल्ने गरिन्थ्यो भैलीको दिनदेखि नै पाँच छ जोरी देउसी भैलो खेल्न आउने गर्दथे तरा आधुनिकताले गर्दा हराउँदै गएको उहाँको भनाइ रहेको छ । कला संस्कृति बचाउन महिला समूह, युवा पुस्ता पनि केही मात्रामा लागेका छन् । संस्कार र संस्कृति बाचेन भने कुनै अर्थ नहुने भएकाले सवै लाग्नुपर्ने नागरिक समाजका अध्याक्ष गुरागाईको भनाइ रहेको छ ।
आधुनिक देखिने चाहना र प्रविधिको विकाससँगै देखासिकीका कारण मौलिकता हराएको हो । अझ पछिल्लो वर्षमा रकम बढी उठोस् भनेर नै देउसी भैलोमा विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरिएको पाइन्छ । प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो तर आफ्नो मौलिकता भुल्नु भनेको पहिचान सङ्कटमा पार्नु हो । विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसीभैलोको खास, महत्त्व र मर्म भने हराउन नदिन सबैपक्ष लाग्नुपर्ने स्थानिय ऋषिराम ढुङ्गाना बताउनु हुन्छ ।
मौलिकता र नेपालीपन जोगाउन युवापुस्ता नै नलागे केही हुँदैन । त्यसैले पुरानो पुस्ता मौलिकताको खानी भएकाले उनीहरूबाट युवा पुस्ताले ग्रहण गर्नुपर्ने र मैलिकता जोगाई राख्नुपर्ने आवश्यकता पनि देखिन्छ ।