• ५ कात्तिक २०८२, बुधबार

नेपाल सम्वत् ११४६ बागलुङमा पनि मनाइयो

blog

नेपाल सम्वत् ११४६ को अवसरमा आयोजित कार्यक्रमका सहभागीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ५ गते ।
नयाँ वर्ष न्हू दँ नेपाल सम्वत् ११४६ बागलुङमा मनाइएको छ । न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४४ मनाइएको हो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नेवार जातीको भाषा, कला र संस्कृति राष्ट्रको साझा सम्पत्ति भएको बताउनुभयो । शंखधर साख्वाले चलाएको नेपालीहरूको मौलिक सम्वत् नेपाल संम्वत् सबै नेपालीको साझा सम्वत् बनाउन अभियान नै चलाउन जरुरी रहेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले नेवा भाषा, जात्रा, संगीत, गीत, कला, संस्कार, संस्कृति र सभ्यताको संरक्षण र जगेर्ना गर्नका लागि सबै नेवार समुदायले आर्थिक, भौतिक सहयोगसँगै सबैको सक्रिय सहभागिता आवश्यकता रहेको औंल्याउनुभयो । श्रेष्ठले एकताले मात्र नेवार समुदायको विकास र कला संस्कृतिले संरक्षण हुने बताउनुभयो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतनप्रसाद मलेपती, शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दे नेपाल सम्वत् सबैको साझा बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष काजीगाउँले श्रेष्ठले नेपाल सम्वतको बारेमा प्रकाश पार्नुभएको थियो भने नेवारी गीतमा नृत्य प्रस्तुत गर्नुभएका कलाकारलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठ नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रम न्हू दँ मूल आयोजक समितिका संयोजक जयराम भारीको अध्यक्षता, नेवा मिसा दबुका अध्यक्ष सोमना शाक्यको धन्यवाद र न्हू दँ मूल आयोजक समितिका सचिव सुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।