बेरुत, कात्तिक ४ गते । इजरायली लडाकु विमानले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए)ले जनाएको छ ।
प्राप्त जानकारी अनुसार, इजरायली ड्रोन अल-जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापकरूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीमा त्रासको वातावरण सिर्जना गरेको थियो ।
इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतङ्कवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ । सेनाका अनुसार, हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल-लेबनानबिच भएको समझदारीको खुला उल्लङ्घन हो ।
गत वर्ष नभेम्बर २७ गतेदेखि दुवै पक्षबिच युद्धविराम लागु भए पनि इजरायलले समय-समयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ । साथै, फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँच वटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ । रासस/सिन्ह्वा