रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ४ गते। गुल्मीमा विपन्न एक दलित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। सामाजिक अभियन्ताहरूको सहयोगमा निर्माण गरिएको उक्त घर मुसिकोट नगरपालिकाको – ५, आँपचौर हात्तीगौँडाका झिल्के दाइको नामबाट परिचित शिवलाल विकको परिवारलाई घर हस्तान्तरण गरिएको हो।
विकको घर निर्माणका लागि स्थानीय युवाहरूको पहलमा “झिल्के दाइको घर निर्माण” अभियान सञ्चालन गरिएको थियो। घर निर्माणमा मुसिकोट नगरपालिकाले जस्तापाता बापतको खर्च उपलब्ध गराएको थियो। नयाँ घर पाएपछि विक परिवार यतिबेला आफैमा निकै खुसी बनेका छन्। आफ्नो घर नहुँदा यसअघि विकको ६ जनाको परिवार स्थानीय छिमेकीको घरमा आश्रय लिएर बस्दै आउनुभएको थियो। उहाँको आर्थिक अवस्था कमजोर छ।
स्वदेश तथा विदेशमा बस्ने मनकारी व्यक्तिहरूको सहयोगमा करिब चार लाख रुपियाँको लागतमा निर्माण गरिएको हो। सामाजिक अभियन्ताहरूको सहयोगमा आँपचौरको देउरालीमा घर निर्माण गरिएको छ ।
आफ्नो घर नहुँदाको उक्त दुःखद् अवस्था देखेपछि स्थानीय बिमल खरेल, सुमन खरेल, रामु खरेल, जीवन खरेल, अर्जुन खरेल, राजु अर्याल, खगेश्वर अर्याल, लिलामणी खरेल, विजय खरेल र सविन घिमिरे लगायतले घर निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको थियो।