• ४ कात्तिक २०८२, मङ्गलबार

कालभैरव परिसरमा गणेश मन्दिर निर्माण

blog

भैरवस्थान मन्दिर परिसरमा निर्माण गरिएको गणेशको मन्दिर । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक ४ गते । दक्षिण बागलुङमा पर्ने प्रसिद्व धार्मिक शक्तिपीठ कालभैरव मन्दिर परिसरमा सिद्धीविनायक गणेश भगवानको मन्दिर निर्माण गटरिएको छ । 

बागलुङ नगरपालिका–१२, अमलाचौरको काउले निवासी स्व. नगेन्द्रबहादुर र पार्वती खत्रीको स्मृतिमा छोराबुहारीहरू टेकबहादुर, गीता, स्व. कृष्ण केसी, गङ्गा, टुकबहादुर, लक्ष्मी, एकबहादुर केसी, छोरीज्वाइँ मीना, दामबहादुर क्षेत्री, लक्ष्मी, गणेश, सीता, ओमबहादुर केसी परिवारले झण्डै १० लाख रुपियाँभन्दा बढीको लगानीमा गणेश मन्दिर बनाउनु भएको हो । 

कालभैरव मन्दिर क्षेत्रको विकासका लागि आगामी दिनमा हातेमालो गर्न तयार रहेको एकबहादुर केसी सङ्गमले बताउनुभयो । वडा १२ मा भए पनि बागलुङ नगरपालिका वडा १०, ११, १२, १३ र १४ तथा जैमिनी नगरपालिका १ का स्थानीयवासीले कालभैरव मन्दिरलाई कोटको रूपमा पुज्दैआएका छन् । 

सदियौं वर्षअघिदेखि कालभैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पूजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेको समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।

‘‘प्रसिद्व धार्मिक शक्तिपिठ कालभैरव मन्दिर क्षेत्रलाई पर्यटनको केन्द्र बनाउन पहल गर्छु’’ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले भन्नुभयो, ‘‘कालभैरव मन्दिरमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले नयाँ विस्तृत अध्ययन प्रतिवदेशन (डिपिआर) बनाएर काम अघि बढाउन सरोकारवाला अग्रसर हुनुपर्छ ।’’ 

‘‘पछिल्लो समय कालभैरव मन्दिरको महत्त्व बढ्दै जाँदा देशैभरबाट समेत धार्मिक पर्यटक यहाँ आउने गरेका छन्’’ पाठकले भने, ‘‘मन्दिरको मौलिक वास्तुकला र संस्कृतिको संरक्षण गर्दै पूर्वाधार निर्माणमा गरी सौन्दर्यीकरण गर्न सके कालभैरव मन्दिर क्षेत्र धार्मिक पर्यटनको हब बन्न सक्छ ।’’ कालभैरव क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्दै गएकाले त्यसको संरक्षण र सौन्दर्यीकरण आवश्यक पाठकको भनाइ थियो । 

आफूखुसी आधुनिक तवरको पुननिर्माण गर्दा मन्दिरको मौलिकता र संस्कृति विनाश गर्ने हुँदा पुरातात्विक नमासिने गरी जिर्णाेद्वार र पुननिर्माण गर्नुपर्ने मन्त्री पाठकले सुझाउनुभयो । पुरानो वास्तुकला र संस्कृतिले मौलिकतालाई पुनर्जीवन दिने हुँदा मन्दिरक्षेत्रमा भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने पाठकले आवश्यकता औल्याउनुभयो ।