• ३ कात्तिक २०८२, सोमबार

सडक मर्मतपछि आवागमन सहज

blog

पानीले अवरुद्ध गरेका ग्रामीण बस्तीका सडक मर्मत गरिँदै ।

खलङ्गा समाचारदाता 

जाजरकोट, कात्तिक ३ गते । यहाँका ग्रामीण सडक मर्मत गरेपछि आउजाउमा सहज भएको छ । स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको बजेटबाट खनिएका ग्रामीण बस्तीका सात वटा सडक धमाधम मर्मत भएपछि सहज भएको हो । चाडपर्वलाई लक्ष्य गरी दसैँअघि मर्मतमा लागेका स्थानीय तहलाई भ्याइनभ्याइ भएको छ । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ, नेपालगन्ज, सुर्खेत, पोखरालगायतका सहरबाट भारतमा ज्यालामजदुरी गरी चाडपर्व मनाउन आउने र सर्वसाधारणलाई स्थानीय उत्पादन बिक्रीवितरण गर्न सहज बनाउन असोज दोस्रो हप्तादेखि सडक मर्मतका लागि स्थानीय सरकार निरन्तर लागेको छ । 

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार बर्खामा पानीसँगै आएको पहिरोले सडक अवरुद्ध भएको गुनासो जनताबाट आउन थालेपछि सात वटै स्थानीय तहका प्रमुख, सडक डिभिजन कार्यालय चौरजहारी, पूर्वाधार विकास कार्यालयसँग अवरुद्ध भएका सडक मर्मत गर्न पहल गरिएको हो । आआफ्ना क्षेत्राधिकारभित्रका सडक मर्मतमा जुटेपछि आवागमनमा सहज हुँदै गएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तले सर्वसाधारणलाई आउजाउमा सहज बनाउन बर्खाको बाढीपहिरोले अवरुद्ध गरेका सडक खुलाए पनि दसैँको बेला पानी परेपछि पुनः अवरुद्ध भएको सडक मर्मतको कामलाई निरन्तरता दिएको बताउनुभयो । 

उहाँका अनुसार नलगाड नगरपालिकाका विभिन्न गाउँबस्तीका सर्वसाधारणलाई आउजाउमा सहज बनाउन खनिएका सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । कालीमाटीदेखि लहँ, भारगाउँ, गर्छिन, बाउसेखोला, नेटीलेखका गाउँबस्तीमा जोडिएका सडक मर्मत गरिएको छ । ग्रामीण बस्तीमा खनिएका सडक मर्मतपछि जनतालाई आउजाउ गर्न र चाडपर्वका लागि किनमेल गर्न जान सहज हुने उहाँको भनाइ छ । भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिकाकाका सबै वडा र बस्तीमा पुग्न सर्वसाधारणलाई आउजाउमा सहजता ल्याउन खनिएका सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । बर्खामा खोला बढेको र पुल नहुँदा डोजर वारपार गर्न नसकेका गाउँबस्तीका खोलामा पनि पानी घटेपछि मर्मत सुचारु ग्रिएको छ । जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउबस्तीमा खनिएका सडकमा पुल नहँुदा खोलाबाट सवारीसाधन वारपार गराउनुपर्ने अवस्था आएकाले दसैँअघि मर्मत गर्न सकिएको थिएन । पानी घटेपछि मर्मतको काम तीव्र रूपमा अघि बढाइएको छ ।

छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काका अनुसार दसैँअघि मर्मत गरिएका ग्रामीण सडक दसैँको बेला पानी परेपछि बिग्रिएका थिए ।