• ३ कात्तिक २०८२, सोमबार

पहिरोको जोखिम स्थलमा अन्धकार

blog

चितवन समाचारदाता

चितवन, कात्तिक ३ गते । पहिरोको उच्च जोखिममा रहेको चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोला क्षेत्रमा बत्ती नहुँदा जोखिम बढेको छ । गत असोज महिनाभर पहिरोले दुःख दिएको स्थानमा रात्रिकालीन यात्रा गर्दा अझै पनि जोखिम कायमै रहेको छ । 

पहिरोस्थलमा सानातिना ढुङ्गा अझै पनि खसिरहेका छन् । जोखिम कायम भए पनि सुरक्षा सतर्कता अपनाउन चितवन प्रशासनले गम्भीरता देखाएको छैन । मुग्लिङका स्थानीय रोहिणी त्रिपाठीले भन्नुभयो, “कुन बेला पहिरो खस्छ भन्ने थाहा छैन । सुक्खा मौसममा समेत यहाँ पहिरो खसेको छ । राति यात्रा गर्दा पहिरो खस्ने स्थानमा बिजुलीबत्ती जडान गरे सतर्क रहन सजिलो हुने थियो ।” 

मुग्लिङमा व्यापार गर्दै आउनुभएका त्रिपाठी सामान खरिद गर्न नारायणगढ आउजाउ गरिरहनुहुन्छ । हरेक दिन जसो यही सडकबाट यात्रा गर्ने उहाँले भन्नुभयो, “मोटरसाइकलमा नारायणगढबाट आउँदा राति हुन्छ । पहिरो जाने स्थानमा बत्ती भएको भए खस्दै गरेको देख्न सकिन्थ्यो । बत्ती नहुँदा कुन बेला ढुङ्गा खसेर लाग्ने हो भन्ने थाहा हुँदैन ।” प्रशासनलाई बत्ती राख्न अनुरोध गरे पनि कुनै पहल नभएको उहाँले बताउनुभयो । 

उहाँ मात्र होइन, सवारीचालकको पनि पहिरो जाने स्थानमा बत्ती राख्नुपर्ने माग रहेको छ । रौतहटबाट पोखरासम्म इँटा ढुवानी गर्दै आउनुभएका ट्रकचालक भक्तबहादुर महतले भन्नुभयो, “हाइमास्ट बत्ती पहिरो जाने स्थानमा राख्नु पर्छ । पहिरो आइराखेको देख्न पाए परै सवारीसाधन रोक्न सकिन्छ । पहिरो आएर सडकमा अवरोध भएको देखिन्छ तर पहिरो खस्दै गरेको देखिँदैन । बत्ती भएमा पहिरो खस्दै गरेको देख्न सकिन्छ ।”

काठमाडौँ–काँकरभिट्टाको रात्रि बसचालक दीपक भुर्तेलले भन्नुभयो, “लामो दुरीका लागि पहिरो जाने जोखिम स्थानमा उज्यालो देखिने गरी बत्ती राख्नुपर्ने हो । तीव्रगतिमा हाँक्नुपर्ने बाध्यता हुन्छ । पहिरो आउँदै गरेको परबाट हेर्नका लागि पनि बत्ती आवश्यक छ ।” 

गत भदौको घटना सुनाउँदै उहाँले भन्नुभयो, “काठमाडौँ जाँदै गर्दा राति चार बजे पहिरोको ढुङ्गाले बसको पछाडि लाग्यो । बसको बत्तीले सडकमा मात्र उज्यालो देखियो तर खस्दै गरेको देखिएन । बसको पछाडि ढुङ्गाले हानेपछि मात्र थाहा पाएँ । भाग्यले बाँच्न सफल भइयो ।” बर्सात् होस् कि हिउँद, पहिरो जाने जोखिम स्थानमा राति उज्यालो बनाउन बत्ती आवश्यक छ, उहाँले भन्नुभयो । 

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बिजुलीबत्ती आवश्यक भएको महसुस गरेर विद्युत् वितरण केन्द्र भरतपुरलाई पत्राचार गरेको जानकारी दिनुभयो । “हामीले छिटो बत्ती राख्न पत्राचार गरेका छौँ, अब काम हुन्छ होला,” उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले अवस्था सामान्य भएकाले त्यहाँ बत्ती राख्न आवश्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको छैन, अहिले पहिरो खस्ने अवस्था देखिँदैन । त्यसैले बत्ती आवश्यक छैन । त्यहाँ बत्ती राखेमा अन्य स्थानमा समेत राख्न माग गर्ने भएकाले अहिले राख्ने योजना छैन ।”

गत भदौ २८ गते र त्यसपछिका दिनमा तुइनखोलाको पहाडमा पानी नपरेको समयमा सुक्खा पहिरो खसेको थियो । त्यसभन्दाबाहेक जलबिरेनजिकको पहाडमा पनि सुक्खा पहिरो खसेर जेठ र असारमा दिनभर राजमार्ग अवरुद्ध भएको थियो । स्थानीयले रातिमा यात्रा गर्न समस्या भएको भन्दै उज्यालो हुने बत्ती राख्न माग गर्दै आएका छन् ।