• २ कात्तिक २०८२, आइतबार

पर्यटकीय गन्तव्य सिरसिरेडाँडा

blog

लमजुङको सुन्दरबजार भोटेओडारस्थित सिरसिरेडाँडा । तस्बिर : नवीनराज कुइँकेल

लमजुङ समाचारदाता 

लमजुङ, कात्तिक २ गते । वरिपरि सुन्दरडाँडा, फेदीमा देखिने सुन्दर सिउँडीबार र फूलबारी बजार अनि राष्ट्रिय झन्डा फर्फराउँदै सरर चल्ने हावाले सिरसिरेडाँडालाई मनमोहक बनाएको छ ।  लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारस्थित सिरसिरेडाँडा अचेल आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । प्राकृतिक सुन्दरता, मनमोहक दृश्य र गर्मी मौसममा बहने सिरसिरे हावाले यस स्थानलाई आराम र ताजगी खोज्नेका लागि स्वर्ग सरह बनाएको छ । नजिकैको ठाउँमा शान्त वातावरण र रमणीय दृश्य अवलोकन गर्न चाहनेका लागि सिरसिरेडाँडा अब छुटाउन नहुने स्थल बन्न थालेको छ । 

सिरसिरेडाँडाबाट भोटेओडारको फूलबारी क्षेत्रका बस्ती, मस्र्याङ्दी नदीको गहिरो खोँच, पहाडी हरियाली र हिमशृङ्खलानजिकबाट हेरे झैँ देखिन्छ । साँझ पर्नुअघि पश्चिमतर्फ ढल्किँदै जाने सुनौलो घामको दृश्य र चाँदनी रातमा देखिने बजारको दृश्य कैद गर्न त्यहाँ पुग्नेहरूद्वारा सामाजिक सञ्जाल भरिभराउ हुन्छ । मोटरसाइकल र अटो सजिलै पुग्ने भएका कारण बिदाको समयमा यहाँ बालबच्चासहित रमाउन आउनेको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् । आन्तरिक पर्यटन प्रवर्धनका लागि स्थानीय युवा क्लब र वडाले सिरसिरेडाँडामा लिङ्गेपिङ, राष्ट्रिय झन्डा, घुम्ती बस्ने ठाउँलगायतका संरचना निर्माण गरिसकेका छन् । वडा कार्यालयले झन्डा राख्ने स्थान तथा वरपरका संरचनामा सुधार गरेको छ । आगामी दिनमा विश्राम कुटी, फोटो प्वाइन्ट, भ्यु टावर निर्माण गर्ने योजना अघि बढेको वडाध्यक्ष मनराज गुरुङले बताउनुभयो । 

सुन्दरबजार नगरपालिका–९, सिउँडीबार हुँदै करिब आधा घण्टाको उकालो पैदल यात्रापछि यस स्थानमा पुग्न सकिन्छ । त्यस्तै सुन्दरबजारको पहिरे हुँदै मोटरसाइकल र अटोमार्फत सहजै पुग्न मिल्ने सडक निर्माण भएपछि यहाँ आउनेको सङ्ख्या बढेको छ । सिरसिरेडाँडाबाट चण्डीमन्दिरसम्म जाने पदमार्गले यो ठाउँलाई धार्मिक पर्यटनसँग पनि जोडेको छ ।