गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), कात्तिक २ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका १० वटा घडियाल गोहीलाई निकुञ्जभित्र रहेको खौराहाखोलामा छोडिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल र नेपाली सेनाको वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरनभक्त घलेसमेतको टोलीले गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको हो ।
योसहित गरेर बर्दियामा तेस्रो पटक घडियाल गोही प्राकृतिक वासस्थानमा छोडिएको हो । खौराहाखोलामा छोडिएका घडियाल गोही पाँच वटा भाले र पाँच वटा पोथी रहेको कुरा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो ।
प्राकृतिक वासस्थानमा छाडिएका गोही तीनदेखि आठ वर्ष उमेरका रहेका छन् । हाल प्रजनन केन्द्रमा १४० ठुला र साना ७० वटा गरी ११० वटा गोहीका बच्चा रहेको बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा २०३९ सालमा गोही प्रजनन केन्द्र स्थापना गरिएको थियो । २०७२ सालदेखि घडियाल गोहीको प्रजनन प्रक्रियाको सुरुवात भएको थियो । २०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक वासस्थानमा छाडिएको थियो । यसअघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी जम्मा २३ वटा बच्चालाई प्राकृतिक वासस्थानमा छोडिएको थियो ।
प्रजनन केन्द्रमा हाल दुई वटा भाले र चार वटा पोथी गरी छ वटा प्रजननयोग्य घडियाल गोही रहेका छन् । यसै वर्ष एकै पटक ११५ वटाभन्दा बढी गोहीका बच्चा जन्मिएका थिए । प्रजनन केन्द्रमा हुर्काएर तीन वर्ष पुगेपछि प्राकृतिक वासस्थानमा घडियाल गोहीका बच्चा छोडिने गरिन्छ । वरिष्ठ संरक्षण अधिकृत डा. अशोकले गोही प्रजनन केन्द्रमा जन्मेका बच्चा हुर्काएर प्राकृतिक स्थानमा बाँच्न सक्ने भएपछि मात्र नदीमा छोडेर गोहीको सङ्ख्या वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।
घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । बर्दिया राष्ट्रिय निकुञ्जले गोहीको वासस्थान व्यवस्थापन गर्ने, चोरीसिकार नियन्त्रण गर्नेलगायतका संरक्षणमुखी काम सञ्चालन गर्दै आएको छ ।
बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छन् । सरकारले वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेर संरक्षण गर्दै आएको छ ।