जनार्जन खत्री
सर्लाही, कात्तिक २ गते । सर्लाहीको धनकौल गाउँपालिकास्थित मनुष्मारा खोलाले तीन दिनअघि बगाएर बेपत्ता बालिका नभेटिएपछि सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली शनिबार साँझ बर्दिवास फर्किएको छ ।
गएको बिहीबार दिउँसो नुहाउन र लुगा धुन भनी आमासँगै जाँदा मनुष्मारा खोलाले बगाएर धनकौल गाउँपालिका –३, निवासी दिनकर साहकी छोरी ११ वर्षीया सोनीकुमारी साह बेपत्ता भएकी थिइन् ।
खोलाले बगाएको पहिलो दिन स्थानीय बासिन्दा र जिल्लाकै प्रहरी भएर खोजी गर्दा बालिका नभेटिएपछि शुक्रबार दिउँसो महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश कार्यालयबाट गोताखोर टोली बोलाइएको थियो ।
सशस्त्रको गोताखोर टोलीले शुक्रबार दिउँसो र शनिबार दिनभर नै खोजी गर्दा समेत बेपत्ता बालिकालाई फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बरहथवा जनाएको छ । बगाएको स्थानबाट निकै तल रामनगर गाउँपालिकाको सिसौटसम्म नै गोताखोर टोली पुगेर बालिकाको खोजी गरेको बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिनुभयो ।
दुई दिनसम्म खोजी गर्दा पनि बालिकालाई भेट्टाउन नसकेपछि शनिबार साँझ गोताखोरको टोली बर्दिवास फर्किएको डिएसपी भट्टराईले बताउनुभयो । स्थानीयका अनुसार बालिकालाई बगाएको ठाउँमा अत्यधिक जलकुम्भी र पानीको तीव्र बेग रहेको छ ।