• १० मंसिर २०८१, सोमबार

जेथाजमानी [निबन्ध]

blog

युवराज नयाँघरे

ओर्लिरहेको हिउँदको दिन ! संसारमा घामपानीबारे अनेक तर्क भइरहेका छन् । भुइँ छोडेर कुरा गरिरहेकै छ– बहसले । सुनेसम्म गर्ने हो भने ढाडमा बर्सिने घाम र तातोलाई बिदा गर्नुपर्छ । पिइरहेको पानीलाई किलकिलेमुनि खसाल्ने कुरामा एक दिन ख्याल गर्नैपर्छ ।

छतमा छु घरको । तीन जना नानीहरू बसेका छन् मेरै वरिपरि । नानीहरू जाडोको बिदामा घर कुरुवा भएका छन् । निकै दिनदेखि ती किताब र कापी बोकेर छतको घाममा सेकिन आउँछन् । आज तिनका छेउमा छु म । किताबले घेरिएका ससाना नानीहरू ।

घामले गाला छोएका नानीहरू । कपाल, ओठ, हत्केलामा घामको लुकामारी भइरहन्छ । छिनभरमै घामले पसिना नि छुटाउँछ । फेरि हत्केलाले छोपिएर गुलाफी बनाउँछन् नानीहरू आफ्ना गाला र निधार । जुधिरहेका छन् ती घामको मीठो छुवाइसँग ।

म घाममा बसे पनि पढिरहेको छु वरपर । पन्ध्र, तेह्र र दस वर्षका किशोरीहरूका छेउमा छु । मेरा आँखा छलेर तिनले खेलेका हरेक खेल नि हेर्दैछु । गृहकार्य गर्न बसेका जस्ता छन् नानीहरू । तिनका छेउमा लुँडो, चेस, क्यारेमबोर्ड पनि देखिरहेछु । घरी–घरी मोबाइल चलाएर सङ्गीतको मौसम पनि सिर्जना गर्न भ्याइरहेकै छन् ती । म तिनका उत्तरका प्रश्न हुँदिनँ । एउटा परको दर्शक वा श्रोता भएर कता–कता उभ्याएको छु । सबभन्दा सानी निकै चञ्चल छे । ऊसँग धेरै कुराका हकदाबी हुँदा हुन् । धेरै तर्क र जिद्दीले उसलाई बल दिएको हुँदो हो– ‘मैले यो पाउनैपर्छ, मैले यो लिनैपर्छ, मैले यो हत्याउनैपर्छ ।’

सानी नानीका तुजुक हुन सक्लान् यस्ता । माझ उमेरकी नानी थोरै ज्ञानी छे । ‘बहिनीले छोडेर, दिदीले दिएको भाग मेरो हो ।’ उसले सम्झेकी हुनुपर्छ ।

अब तेस्री केटी । हो, तेस्रो अनुहार । अर्थात् ठूली नानी । अलिक ज्ञानी । शान्तसँगै उमेरको बलियो उपस्थिति । अरूभन्दा धैर्य हुनुपर्छ भन्ने स्वाभाविक चेतनाको लालीमाले पोतिएको अनुहार ।

‘हामी तीनमा म नेतृत्वदायी हुँ ।’

सर्लक्क बोलेको लाग्छ– यो अनुहारले ।

नहतारिने, बिस्तारै, लक्षित र क्रमशः । पढिरहेका वा औँलामा बसेका अक्षरका डोबले तिनको ‘ठालु’ रूप देखिरहेको छु म । तिनी चटपट गर्ने अरु नानीलाई ओठ खुम्च्याएर र आँखा तरेर शासन गरिरहेकी छन् ।

म घामको पहारमा पढिरहेको छु नानीहरूलाई । गृहकार्य गर्ने निहुँ मात्र हो तिनको आज । पक्का छ, आज तिनले त्यता मन गरेका छैनन् तर बाधा मैले हालेको पो हुँ कि ! सोच्छु र फेरि पनि पहारमा बसेको छु । पढ्नु छ तिनलाई । लुँडो खेले, अल्छी त लागिहाल्यो नि । चेस खेले, दिक्क त लागिहाल्यो नि । क्यारेम खेले, वाक्क त लागिहाल्यो नि । नानीहरूलाई दिउँसो पहारमा हरेक कुरा प्राप्त भएको लागिसक्यो । 

तैपनि आफ्नो मनैले भनेको कुरा नपाएजस्तो । हिउँदको घाममा छिट्टै बादल आएर पोतिएजस्तो । तुँवालोले अँठ्याएजस्तो ।

नानीहरू हाँस्न सकेका छैन । घरी–घरी कानेखुसी गर्छन् । घुँडो चिमोटेर इशारा गरिरहेछन् । औँला कोट्याएर बोली साटासाट गरिरहेछन् । नाक खुम्च्याएर भाषा बाँडिरहेछन् । औँला चलाएर इच्छा उतारिरहेछन् ।

‘मैले त देखिनँ !’

देखेँ नि त्यो सबै गतिपति । तर देखेको कुरा भन्नु पो कसरी तिनलाई । हो, देखिनँ भनिरहेको छु । छातीमा छ यो प्रमाण ।

नानीहरूसामु परेली चिम्लेको छु मैले । तिनले छिनछिनमा आफ्ना चाहना र रहरका मुड्की बजारिरहेकै छन् । मैले आफ्ना शासनपूर्ण बोली र व्यसनलाई कठोरसँग बाँधिरहेको छु । दाह्रा किटेर नि रिस, आवेग वा क्रोधलाई थिल्थिलो पारेको छु ।

आज तिनले मलाई पढ्न खोज्दैछन् ।

घाम, नीलो आकाश, फिरफिरे बतास । हिउँदको तातो पहार । शरीरमा घरी–घरी मुच्र्छा पर्ने स्याँठ । फेरि डाँटडपेट लाएर धपाउन खोज्ने ठिहीको घुर्की ।

मसँग छ नानीहरूलाई पढ्ने लोभ ।

दोहोरो बोलीचाली छ, दुवैले बुझिरहेको । अथवा थाहा नपाएर बिताइरहेको क्षण । सरोबरी हुन सक्तैन । तैपनि एउटै छत, एउटै घाम । एउटै पहार, एउटै हिउँदको स्याँठ । मिलेर छल्नु, कटाउनु, नाघ्नु परिरहेको लाग्दो होला नानीहरूसँगै मैलाई नि । हो, किताबमा मन गएको छैन नानीहरूको ।

गणित, विज्ञान, सामाजिक वा अर्थशास्त्रका किताबैले तिनलाई हुरुक्क पारिसकेको हुँदो हो । अङ्ग्रेजी, लेखा, स्वास्थ्य वा जनसङ्ख्याका पुस्तकैले तिनलाई दिक्क तुल्याइसकेको हुँदो हो ।

चित्रमा जुँगा भर्ने, फरिया–चोली लाइदिने, लवेदा–सुरुवाल बनाइदिने वा केश कोरीबाटी गर्ने कामतिर तिनका हात सकसकाइरहेका छन् । तर छ मेरो छेउको उभ्याइ । कताकति तिनलाई सङ्कोच हुँदो हो । कताकति तिनलाई लाज हुँदो हो ।

कति असहज हुन्छ ठूलाको पराजय र सानाको विजय । कति कहालीलाग्दो हुन्छ मसिना बिरुवा हलक्क बढ्नु र ठूला वृक्ष बाम्पुड्किनु । कति चोट लाग्छ अग्लाहरू खुम्चिनु र होचाहरू अस्वाभाविक अकासिनु ।

‘जाडोमा पढ्न गाह्रो होला । घरमै बसेर पढे त भइहाल्यो नि !’ मनमा तर्कले ठाउँ लिन्छ ।

‘बेलामा नगरे कसरी पछि ब्याज पाउँछन् त यी !’ प्रश्न मेरो छातीमा आउँछ ।

यी तर्क पनि गर्दा हुन् आपूmआपूm । ‘बिहानभरि सुतूँ वा रातभरि पढूँ । मेरो ढक–तराजुमा मै जोखिन्छु ।’ तिनले सिद्धान्त यस्तै बनाउँदा हुन् ।

अनि म छेउमा बसेर तिनको पढाइ वा लेखन्ते खबरदारीमा बसेको अप्रिय भइरहेको हुँदो हो उनीहरूलाई । मनमनै अरुचिको डकार फ्याँके पनि बाहिरको गुलाफी गालामा ‘ठीकै छ, ठीकै छ नि’ को बोली बोलिरहेका हुँदा हुन् ।‘हामी खेलुम् ?’ सबैभन्दा सानी बोली ।

‘हुन्छ । खेल न !’ मैले परेली नउघारिकनै भनेंँ ।

तिनले खेल्ने त त्यै क्यारेम होला, त्यै लुँडो होला, बाघचाल होला, चेस होला । ठीक छ खेलुन् न त नानीहरूले । यत्ति सोचेँ र घामको परिकारमा रमाइरहेँ ।

अघिसम्म बिस्तारै बोलेका साना नानीहरू अब चम्किन थाले । खेल निकै महँगो हुन थालेछ । ‘यो दुक्का म लान्छु ।’ बोली सबैभन्दा सानी नानी ।

‘पानको दुक्का त मलाई नि चाहिएको थियो ।’ माझकी केटी बोली ।

‘मेरो त एउटा गुलाम आउनेबित्तिकै मर्छ ।’ सबैभन्दा ठूलीले हुँकार गरी ।ओहो, नानीहरू त तास पो खेल्न थालेछन् । मेरो कानले थाहा पाए बल्ल पो । हो, खेल भन्ने वातावरण मैले तयार पारिदिएको थिएँ ।

दुई चरण खेल सकियो खेलेर । हाँसो, गुनासोका घुर्की नि सुनेँ मैले ।

खेल– ठूला वा साना जो कसैको होस्, पराजयको पीडामा उग्रै हुने रहेछ आवाज । खेल– ठूला वा साना जोसुकैको होस्, हारको घाउले चहराउँदा चर्कै हुने रहेछ स्वर । नानीहरूको तास खेलाइ चम्कियो फेरि ।

‘अब त पैसामा खेल्ने ।’ सानी नानी चम्की ।

‘खोई त पैसा ?’ माझकी केटीले अन्योल देखाई ।

‘नाक ! नाक बाजी राख्ने नि ।’ सबैभन्दा ठूलीले उपाय सुझाई ।

लौ त लौ । सहमति भो खेलका लागि । अब बाजी नै शरीरका अङग भए । हरेक पटक हार्नेले आफ्नो शरीरका अङ्ग राख्दै जानुप-यो दाउमा ।

तास फिटेर मज्जाले बाँडियो । फराँस खेलेका रहेछन् ।‘चली फराँस नखेलुँ ।’ सानी चम्की ।

‘हुन्छ–हुन्छ ।’ दुइटी मान्दिए सरक्कै ।

‘धेरै पैसा गयो, चल फराँसमा !’ ठूलीले सानीका कुरा मान्दिए ।

‘अब उल्टी फराँस खेलुम् !’ सानी केटी बोली ।

‘हुन्छ, हुन्छ !’ ठूला दिदीहरू मानिदिए ।

तास फेरि फिटियो । आफ्ना अघिल्तिर पल्टिएका तास हेर्दै हारजीतको निधो हुन्थ्यो ।

सानीले आफ्ना नाक, कान, गुमाई बाजीमा । अरू तीन–चार पटकमा देब्रे हातका जेठी, माइली, माझी, साइँलीपछि कान्छी औँला नि गुमाई । ऊ बाजीमा गएका औँला फर्काउन खुब कोसिस गरिरहेकी छ । रिसाएर, फत्फतिएर ऊ तास खेलिरहेकी छ ।

सुनिरहेको छु म ।

‘हत्तेरिका, एक्का आएको भए नि हुने !’ सानीले यसपालि नि हारी । ऊ दाहिने हातका अरू औँला नि गुमाइरहेकी छ । देब्रे हातको औँला गुमाएर उसले ढाडमा कुटाइ खाइसकेकी छ । अब फेरि दाहिनेमा पुगिसकेकी छ । माझकी नानीले नि तासमा भुँडी, कुम, औँला, कुइनेटो र पाखुरा गुमाइसकी । ऊ पनि हरूवा भई । अहिलेसम्म जितुवा भइसकेकी छ सबैभन्दा ठूली नै ।

तास खुब फरर्र पारेर फिट्छन् । कैंचे पारेर मिसाउँछन् । दुई हातमा आधी–आधी पारेर तास मिलाउँछन् । तैपनि राम्रो तास नपरेको गुनासोमा नानीहरू फन्किरहेका छन् ।

मैले सबै हेरिरहेको छु कोल्टे परेर । खुब जम्यो तासको खाल । ठाउँ सरी–सरी उनीहरू खेलिरहेका छन् । आफ्नो ठाम छोड्दै नयाँ ठाउँमा थेच्चिँदै बोलिरहेका छन् ती ।

शरीरका अङ्ग–अङ्ग गुमाइरहेका छन् तिनले तासको बाजीमा ।

‘दिदीका खुट्टाका औँला त गए नि ! मैले त भुँडीमाथि सबै हारिसकेँ ।’ सानीले छाती, आँखा, कान, नाक सबै गुमाएको बताई ।

हारका कुरा निकै भए । हार्न नहुने तर फेरि हारिरहेको वेदना भइरह्यो पटक–पटक । जित्न नसकेको कुराले ठाउँ पायो निकै खेप । तर हार त हारै हो नि !

नानीका धेरै अङ्गहरू बाजीमा गुमिरहेका छन् । पराजयमा निकै पटक चुकचुकाइ, दुःख, उदासी र खिन्नताले उभिने मौका पाइरहेछन् ।

अझै दुई घण्टा खेले तिनले तास ।

‘दिदी, तपाईंले थोरै हार्नुभो कुम, घुँडा र दुइटा खुट्टा त हार्नुभो नि ।’ सानीले माझकी दिदीलाई सोधी ।

‘हो नि !’ यस्तै भाव ऊबाट आयो ।

मौनतापछि हारको सन्नाटा छ । मसम्म आइपुग्छ त्यो पराजयको पीडा । कति आहत छ हार्नुको पीडा । कति चहराउँदो छ त्यो गुमाउनुको पीडा । सबैभन्दा ठूली नानीतिर हेरेर भनी सानीले— ‘दिदीले पनि कति खेप हार्नुभो ? जिब्रो, दाँत, गिजा पनि हार्नु भो है दिदी !’ ऊ हाँसी दिदीको पराजयमा ।

ठूली दिदी ठुस्की । आफ्नो हारमा सबभन्दा सानी हाँसेकी थिई अहिले । कति असहज हुन्छ ठूलाको पराजय र सानाको विजय । कति कहालीलाग्दो हुन्छ मसिना बिरुवा हलक्क बढ्नु र ठूला वृक्ष बाम्पुड्किनु । कति चोट लाग्छ अग्लाहरू खुम्चिनु र होचाहरू अस्वाभाविक अकासिनु । यही स्थिति छ– हिउँदको घाम । म तापिरहेछु अब । घामको तातोले जिउ रन्केको छ । पैतालादेखि माथि टाउकैसम्म राप भरिएको छ ।

एकछिन अर्कै खेल खेल्ने– गलफती भयो । तर जे नै खेले नि तास त तासै हो । त्यही बाउन्न पत्ती— चाररङ्गे पत्ताको भुँवरी न हो ।

नानीहरूले फेरि तास खेले उही उल्टी फराँस । त्यसको खास नाम त अर्कै हुँदो हो । फलाँस वा यस्तै अर्को–अर्को अङ्हग्रेजी नाम । तर नेपाली, अझ नानीहरूका ओठमा माझिएर आइपुग्दा भयो फराँस ।

खेल फेरि चम्किएर चल्यो । बडो अनुशासित भएर उनीहरू नियम बनाई–बनाई खेलिरहेका छन् । हात टेकेर बाँड्न नपाइने, घुँडा मारी बस्न नपाइने, आँखा झिम्काउन नपाइने, खुट्टाका औँला छुन नपाइने यी सब नियम बनेका छन् । हार्नेहरूले बढी नियम बनाउँछन् । फेरि ती नियम मिच्ने पनि तिनै हरूवा हुन्छन् पटक–पटक ।

किन हो सानी केटीले हरेक खेल हारी । 

ऊ दिदीहरूलाई आरोप लगाइहाल्थी आफ्नो हारमा । जाल, झेल वा षड्यन्त्र भएको दोष थोपरिरहेकी थिई दुई दिदीहरूलाई । सहयोग, याचना वा अनुकम्पाका आँखाले मतिर हेरे नि ऊ फेरि जोतिइहाल्थी आफ्नै तासमा ।

मैले उनीहरूलाई खेल्न दिनु नै ठूलो कृपा भएको थियो ।यसैले मलाई केही सोध्दिनथी । कुनै कुरा बोल्दिनथी ऊ । तीन जनाको लडाइँ, गलफती, द्वन्द्व वा कचिङ्गलोको साम्य उनीहरूबाटै भइरहेको थियो । उनीहरूबाटै भइरहेथ्यो मध्यस्थता । मेलमिलाप या सहजीकरण उनीबाटै भइरहेको थियो ।

‘म खेल्दिनँ अब । सबथोक हारेँ ।’ सानीले भनी ।

‘म सापटी दिन्छु नि !’ ठूली र माझकीले सल्लाह दिए ।ऊ एकछिन मौन रही । अनि एकाएक भनी– ‘अब टाउको मात्र छ । बाजीमा राख्ने ।’

‘ठीक छ, त्यै राख् !’ तास फिटिरहेकी थिई माझकी नानी । ठूलीले उसका हातबाट खोसेर फिटी आफैँ । उनीहरू खोसाखोस गर्दै तास फिटिरहेका छन् ।

‘होस्, म खेल्दिनँ । टाउको भनेको देश हो रे मिसले भन्नुभएको । यो पनि हारेँ भने त जिन्दगी खत्तम ।’

उसले तास फरर्र फ्याँकी छतभरि । हावाले छरिएका तासलाई वरपर उडायो । मैले हेरिरहेँ उडिरहेका 

तासका पत्तीहरू ।

 यो महाज्ञान दिने गुरुआमाको खोजीमा छु म !