गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २ गते । काठमाडौँस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा कलाकार किरण मानन्धरको कला यात्रामा समर्पित ‘किरण’ को एकल विशेष कला प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ । चार दशकदेखि कला क्षेत्रमा सक्रिय उहाँको सिर्जनाको विविध आयामलाई समेटिएर तयार पारिएको प्रदर्शनीले आत्मीयताको भाषा बोकेको रङ, बनावट र अमूर्तताको अभिव्यक्ति प्रस्तुत गर्दछ ।
प्रदर्शनीको नाम कलाकारकै नामबाट आएको हो, जसको अर्थ हुन्छ ‘प्रकाश’ । म्युजियमका प्रमुख क्युरेटर राजन शाक्यले भन्नुभयो, “प्रकाशमा फेरि प्रकाश हाल्न आवश्यक छैन । किरण मानन्धर स्वयं प्रकाश हुनुहुन्छ ।’’ कलाकार मानन्धरका अनुसार यस्ता प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । विशेष गरी यिनीहरू नयाँ पुस्तामा ज्ञान, सिप र कला स्थानान्तरण गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा काम गर्छन् । उहाँले भन्नुभयो, “कला नै मेरो जीवन हो, म कलाका लागि बाँच्दछु ।”