• २ साउन २०८२, शुक्रबार

गीतमार्फत जनकविकेशरीको सम्झना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन  २ गते । जनकविकेशरी धर्मराज थापाको १०१ औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा लोकगीतको सङ्कलन, लेखनका साथै लोकगीत गाएर जनकविकेशरी धर्मराज थापालाई सम्झना गरियो । 

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जनकविकेशरीले मुलुकका विभिन्न स्थानमा पुगेर सङ्कलन गर्नुभएका लोकगीत, उहाँले गाउनुभएका लोकगीत र गीत सङ्कलनका क्रममा भोगेका प्रेरणादायी कथालाई लिपिबद्ध गर्ने काम प्रतिष्ठानले गरिरहेको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानमूलक लोकसाहित्य संस्कृतिप्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को लोकार्पण गरिएको थियो । डाँफेचरी जनकविकेशरी धर्मराज थापाको सम्पादनमा विसं २०१० सालमा प्रकाशन सुरु गरिएको लोकसाहित्य उजागर गरिने पत्रिका हो । 

डाँफेचरीका अनुसन्धान प्रविधि सल्लाहकार प्राडा दयाराम श्रेष्ठले डाँफेचरी पत्रिकामा लोकसाहित्य, लोकगीतबारे अनुसन्धानात्मक लेखहरू समेटिएकाले यसको अध्ययनले लोकवार्ताबारे बुझ्ने अवसर पाइने बताउनुभयो । डा. जगमान गुरुङले गाउँ गाउँमा पुगेर लोकगीतको सङ्कलन गर्दा धर्मराज थापा पोखराबाट सात दिनमा काठमाडौँ आइपुगेको सम्झना गर्नुभयो । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसरमा थापाले गाएको गीतबाट प्रभावित भएर राजाले नै उहाँलाई जनकविकेशरी पद्वी दिनुभएको पनि उहाँले बताउनुभयो । 

पूर्वमन्त्री राधाकृष्ण मैनालीले जनकविकेशरीले देशभरको लोकगीतको सङ्कलन, उत्थानका लागि पु¥याउनुभएको योगदानले नेपाली लोकगीतलाई बचाउन मद्दत पुगेको विचार व्यक्त गर्नुभयो । लेखक रतन भण्डारीले थापाको व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा गायिका सीता श्रेष्ठ, विकासजङ्ग राणालगायतले जनकविकेशरीलाई गीतमार्फत सम्झनुभयो ।