विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक १ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक युवकको शव फेला परेको छ । त्रियुगा नदीले बगाउँदै गरेको अवस्थामा सोही ठाउँका वडा नम्बर ५ पथरी निवासी १८ वर्षीय दिलीप मुखियाको शव फेला परेको हो ।
आठ दिनदेखि बेपत्ता रहेका मुखियालाई स्थानीयले नदीले बगाइरहेको अवस्थामा शुक्रबार देखेपछि शव बाहिर निकालेर घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
मानसिक सन्तुलन ठिक नभएको मुखिया असोज २३ मा त्रियुगा नदिको किनारमा बाख्रा चराउन जानुभएको थियो ।
त्यसपछि घर नफर्किएकाले उहाँका परिवारजनले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएका थिए । खोजतलासको क्रममा मुखियाको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।