सर्लाही समाचारदाता
सर्लाही, कात्तिक १ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको विस्तार कार्यले गति लिन सकेको छैन ।
गत वर्ष पुस १७ गतेदेखि सर्लाही, महोत्तरी र धनुषामा राजमार्ग विस्तारको काम सुरु गरिएको थियो । रौतहट र बारामा सडक विस्तारका लागि ठेक्का लाग्नै बाँकी छ । कमला नदीदेखि पथलैयासम्म १३० किलोमिटर राजमार्ग विस्तारको काम सुरु भएको नौ महिना भइसक्दा अहिलेसम्म १० प्रतिशत पनि काम हुन सकेको छैन ।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले सडक विस्तारको काममा सुस्तता रहेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “जङ्गल क्षेत्रको रुख कटानको अनुमति प्राप्त नहुँदा कामले गति लिन सकेको छैन । रुख कटानको प्रव्रिmया नै लामो र झन्झटिलो रहेको छ ।”
उहाँको अनुसार सर्लाही, महोत्तरी र धनुषामा निर्माण व्यवसायीले जे जति काम गरेका छन् । त्यो रुख नभएको ठाउँमा मात्रै गरेका छन् । अहिलेसम्म जङ्गल क्षेत्रमा रुख नभएको ठाउँमा जेसिभी लगाएर माटो सम्याउने काम मात्रै भएको छ । चाडपर्व सकिएपछि निर्माण कार्यले केही गति लिने आयोजना प्रमुख दासको विश्वास छ ।
कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत ठेक्का लाग्न बाँकी रहेको रौतहट र बारा खण्डको काम गराउन सडक विभागले कर्मचारीको बेग्लै समूह परिचालन गर्ने तयारी गरेको छ । काम भइरहेको सर्लाही, महोत्तरी र धनुषा गरी अहिलेसम्म रुख नरहेका ठाउँमा सडक क्षेत्राधिकारभित्र पर्ने ठाउँ जेसिभी लगाएर सफा गर्ने र माटो भर्ने, कलभर्ट निर्माण गर्ने, पुल विस्तार गर्नेलगायतका काम भइरहेका छन् ।
सर्लाही खण्डमा सागरनाथ चोकमा कलभर्ट निर्माण, फूलजोर, कालिन्जोर, लखन्देही र चापिनीखोलाको पुल विस्तार, लालबन्दी बस्तीपुर क्षेत्रमा सडकको क्षेत्राधिकारभित्र खन्ने र माटो भर्ने काम जारी रहेको छ । विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ ऋण सहयोगमा एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनको सडक निर्माण गर्ने लक्ष्य रहेको छ । सडक विस्तारका लागि जङ्गल क्षेत्रका रुख कटान तथा बिजुलीका पोल तथा टेलिफोनका तार हटाउने काम मुख्य चुनौती बनिरहेका छन् ।