• १ कात्तिक २०८२, शनिबार

पृथ्वी राजमार्ग विस्तारः पूर्वी खण्डको म्याद सकियो, काम सकिएन

blog

पूर्वीखण्डअन्तर्गत दमौलीको भोर्लेटारचोकमा गरिएको स्तरोउन्नती । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक १ गते ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद सकिएको छ । असोज २५ गतेबाट म्याद सकिएको हो । गत असार २९ गते तीन महिनाका लागि म्याद थप भए पनि काम पूरा हुन सकेन् ।

निर्धारित समय समाप्त नभएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरे बमोजिम गत असारमा चौथो पटक समय थप गरिएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले  जानकारी दिनुभयो ।

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन कठिन हुनु, निर्माण आरम्भमा ढिलाइ गर्नु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन, खानेपानीका पाइप सार्न समस्या हुनु लगायतले काम प्रभावित भएको पाण्डे बताउनुहुन्छ ।

पाण्डेका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलबाट आगामी असोज २५ गतेसम्म म्याद थप भएको थियो । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो । कालोपत्रको सबै काम पूरा भएको छ । तनहुँको सदरमुकाम दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् ।

अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । ८६ प्रतिशत काम पूरा भइसकेको महत्त्वपूर्ण कामहरु सकिएका कारण अब धेरै समय नलाग्ने पाण्डे बताउनुहुन्छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । उक्त खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

मादीनदीको पुल काम ७५ प्रतिशत सम्पन्न 
यसैबिच पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथिको चारलेनको पुलको काम ७५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । नेपालमै पहिलो पटक बन्दै गरेको यस पुलले व्यास नगरपालिका वडा नं ४ र ५ जोड्नेछ ।

तीन सय १५ मिटर लामो यस पुलका छ वटा स्पान हुने छन् । सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चारलेनको हुने पाण्डेले बताउनुभयो । हाल नदीमाथि रहेको दुईलेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि साईड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो ।