• १० मंसिर २०८१, सोमबार

जाने ओखती नजाने विष

blog

डा. पुनेश्वर केशरी 

सामान्यतया आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ हुँदैन भन्ने भनाइ छ तर यो पूर्ण सत्य होइन । आयुर्वेदकै कतिपय स्वास्थ्यकर्मी पनि आयुर्वेद औषधिको दुष्प्रभावबारे अनभिज्ञ छन् । सुरक्षित प्रयोगमा त्यति संवेदनशील भएको पाइँदैन । रोगले हुने मृत्यु कहिलेकाहीँ हामीले रोक्न सक्दैनौँ तर औषधिको प्रयोगले हुने मृत्यु स्वीकार्य हुन सक्दैन भन्ने भनाइ नै छ । तसर्थ कुनै पनि चिकित्सा पद्धतिमा प्रयोग हुने औषधिको प्रयोगबाट हुने दुष्प्रभावको पहिचान, अध्ययन, आकलन तथा रोकथामसम्बन्धी कार्यका लागि र त्यससम्बन्धी शिक्षा तथा स्वास्थ्यकर्मीलाई तालिम आदिको व्यवस्थापनका लागि फर्माकोभिजिलेन्स (औषधिको दुष्प्रभाव पहिचान) आवश्यक हुन्छ । यस लेखमा आयुर्वेद औषधिको सुरक्षित प्रयोगबारे आयुर्वेद संहिताहरूमा उल्लेख गरिएका केही विषय प्रकाश पार्ने जमर्को गरिएको छ । 

आयुर्वेद चिकित्सा पद्धतिलगायत अन्य वैकल्पिक चिकित्सा पद्धतिमा प्रायः औषधिजन्य वनस्पति वा जडीबुटी, प्राकृतिक खनिज पदार्थ, जीवजन्तुबाट प्राप्त हुने उत्पादनहरू विभिन्न रूपमा प्रयोग भएको पाइन्छ । प्राकृतिक उत्पादनहरूको प्रयोग भएकाले यी पद्धतिका औषधिहरू अपेक्षाकृत सुरक्षित मानिन्छन् तर उचित मात्रा, उचित शोधन, उचित प्रयोग विधिबिना र आफूखुसी यस्ता औषधिको जथाभावी प्रयोग गर्दा कहिलेकाहीँ घातक हुनसक्छ । औषधि उत्पादनको क्रममा हुने त्रुटि, विभिन्न औषधिको एकसाथ प्रयोग, एकैसाथ आयुर्वेद र एलोप्याथिक वा दुई छुटाछुट्टै पद्धतिका औषधि प्रयोग गर्दा हुने अन्तक्र्रिया आदिले पनि अनेक दुष्प्रभाव उत्पन्न भई नकारात्मक असर देखापर्न सक्छन् । 

आयुर्वेद संहितामा औषधिको सुरक्षितताको प्रश्नलाई विविध किसिमले सम्बोधन गरिएको पाइन्छ । औषधि वा औषधिजन्य पदार्थको एकअर्कासँग प्रयोग वा खाद्य पदार्थसँगको सम्मिश्रण वा फरकफरक खाद्य पदार्थहरू एकसाथ प्रयोग गर्दा हुनसक्ने अहित प्रभाव वा दुष्प्रभाव यहाँ उल्लेख गरिएको छ । यस्तै औषधिको अतिमात्रा सेवन गर्नाले हुने अहित प्रभावको वर्णन, स्वभावले नै मानिसलाई अहित गर्ने पदार्थ वा अवस्था विशेषमा मात्र अपथ्य वा अहितकर हुने पदार्थको वर्णनका साथै विभिन्न उपक्रम वा चिकित्सा कर्र्मको उचित प्रयोग हुन नसकेको अवस्थामा हुने जटिलता आदि पनि विभिन्न रूपमा वर्णन गरिएको पाइन्छ । त्यसैले औषधि वा चिकित्सा विधिको सुरक्षित प्रयोग हुनुपर्छ भनिएको हो । 

फर्माकोभिजिलेन्स विषय आयुर्वेद संहिता जत्तिकै पुरानो मानिन्छ । भावप्रकाश निघण्टुले पनि यस पक्षलाई समेटेको छ । त्यसैगरी धन्वन्तरी निघण्टुमा पनि औषधिको हित र अहित, प्रभाव र प्रयोग, गर्न हुने र नहुने अवस्थाको विशेष वर्णन गरिएको छ । भावप्रकाश निघण्टुमा कतिपय औषधिजन्य द्रव्यको प्रयोग गर्न नहुने अवस्था, सावधानीपूर्वक प्रयोग गर्नुपर्ने अवस्था र पर्नसक्ने दुष्प्रभावहरू वर्णन गरिएको छ । ४८० द्रव्यमध्ये १९६ द्रव्य सुरक्षित प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ, जसमा सही तरिकाले प्रयोग नगरेमा दुष्प्रभाव उत्पन्न हुने भनिएको छ । संहिताअनुसार औषधि सिफारिस गर्दा दोष, प्रकृति, काल, वय, अग्नि, आदि विचार गर्नुपर्दछ । 

त्यसैगरी विष, उपविष वर्गका द्रव्यहरू, पारद, गन्धक आदि रस, महारस, उपरस, साधारण रसको उपयोग पनि शोधनपश्चात् मात्र गर्ने भनी उल्लेख गरिएको छ । त्यसैगरी रोगानुसार औषधिजन्य द्रव्यहरू पथ्य वा अपथ्य हुन्छ । आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहितामा वर्णन भएअनुसार तीक्ष्ण विष आदिलाई पनि युक्तिपूर्वक योग, मात्रादिको विचार गरी प्रयोग गरियो भने त्यो उत्तम औषधि हुनसक्छ, युक्तिपूर्वक गरिएन भने त्यो विष समान हुनसक्छ । 

त्यसैगरी सोही संहितामा विरुद्ध आहार (एकसाथ फरकफरक प्रकृतिका आहारको सेवन, जस्तै– माछा र दूध एकसाथ खानाले हुनसक्ने दुष्प्रभाव)को उल्लेख गरिएको छ । आयुर्वेद आफैँमा एकीकृत चिकित्सा पद्धति हो । यसले दोष, धातु, प्रकृति आदिको विचार गरी औषधि प्रयोग, पथ्य आहारविहार, अपथ्य आहारविहार, योग–व्यायाम, सत्तवाजय आदि समस्त कुरालाई विचार गरी चिकित्साको विधान गर्दछ । तसर्थ प्रयोग गर्दा औषधिको योग, मात्रा, अनुपान (औषधिसँग वा औषधि सेवनपश्चात् प्रयोग गरिने पेय पदार्थ जस्तै– मनतातो पानी वा मह), सहपान (औषधिसँगै सेवन गरिने पेय पदार्थ), आहार, व्यायाम आदिको पनि विचार गर्नुपर्दछ । अन्यथा औषधिको अहित प्रभाव वा दुष्प्रभाव हुनसक्दछ । कतिपय आहार एकसाथ प्रयोग गर्दा त्यसको दुष्प्रभाव हुने कुरा उल्लेख छ । जस्तै– माछा र दूध, मह र घ्यू समान मात्रामा एकसाथ प्रयोगले विषाक्त प्रभाव पार्दछ । 

औषधिमा प्रयोग गरिने कतिपय वनस्पति स्वाभाविक रूपमा नै विषाक्त हुन्छन्, जसको उचित शोधनपश्चात् मात्र औषधिको घटकका रूपमा प्रयोग गरिन्छ । जस्तै– वत्सनाभ जसलाई नेपाली भाषामा विष भनिन्छ, यसमा ‘एकोनिटिन’ भन्ने विषाक्त घटक हुन्छ । गो मूत्र र गो दुग्धमा शोधनपश्चात् यसको विषाक्तता हटेर जान्छ । अनि मात्र प्रयोग गर्न मिल्दछ । त्यसैगरी धतुरो, कनेर, रत्तीगेडी, सिउँडी आदि उपविष वर्गका वनस्पति द्रव्य पनि शोधन गरेर मात्र प्रयोग गर्न मिल्दछ । पारद, गन्धकजस्ता खनिज द्रव्यलाई पनि विभिन्न किसिमका औषधिजन्य वनस्पतिको स्वरस वा क्वाथसँगै घोटेर विशिष्ट शास्त्रीय विधिबाट विशिष्ट किसिमका भट्टीहरू (फरनेस)मा अति उच्च तापक्रममा भस्म बनाएर मात्र प्रयोग गरिन्छ । 

प्रयोग गर्न नहुने अवस्था 

अति श्रमले गलेको, बलहीन, रुखो, दुब्लो, उपवासले बलहीन भएको, पित्त दोषको अधिकता, गर्भवती, रक्तविमुक्त वा रक्तमोक्षण (चिकित्सकीय विधिबाट अशुद्ध रगत निकाल्ने प्रक्रिया) गरिएको अवस्थामा हर्रो प्रयोग गर्न हुँदैन । धन्वन्तरी निघण्टुअनुसार तिर्खाएको, मुख सुक्खा भएको, तल्लो बङ्गारा नचल्ने, ज्वरोको प्रारम्भिक अवस्थामा पनि यसको प्रयोग गर्नुहँुदैन । 

आयुर्वेद मतानुसार ताजा अदुवा छालसम्बन्धी रोग, रक्तअल्पता, पिसाब पोल्ने वा पिसाब फेर्दा दुख्नेजस्ता पिसाबसम्बन्धी रोग, रगत बग्ने विकार, घाउ वा अल्सर, ज्वरो, जिउ पोल्नेजस्ता रोगमा ताजा अदुवाको प्रयोग गर्नु हुँदैन । त्यसैगरी ग्रीष्म र शरद ऋतुमा ताजा अदुवाको प्रयोग गर्नु हुँदैन । दाद, छालासम्बन्धी विकार, रगत बग्ने अवस्थामा ओलको दुष्प्रभाव पर्न सक्छ । गानोगोला, पाचन प्रक्रिया मन्द भएको अवस्थामा कटहर प्रयोग गर्न हुँदैन ।

स्वास्थ्यकर्मीले रोग, रोगी, काल, वय, दोष, प्रकृति आदि विचार गरेर मात्र औषधि सिफारिस गर्नुपर्दछ । सकभर क्रसप्याथी (दुई फरकफरक विधाका औषधिको एकसाथ प्रयोग)को अभ्यास गर्नु हुँदैन । 

केही आयुर्वेद औषधिको दुष्प्रभाव 

श्यामा त्रिवृत (कालो निशोथ)को दुष्प्रभावका रूपमा कडा खालको पखाला लाग्नु, मूच्र्छा, जलन, नशा लाग्नु, भ्रम उत्पन्न हुनु, घाँटीमा खसखस हुनु भनिएको छ । ज्योतिष्मति (मालकाँग्नु)ले बान्ता गराउँछ । त्यसैगरी भुटेको चनाले छालाको रोगमा उत्कर्षकारक तìवको रूपमा कार्य गर्दछ । धनियाँको अत्यधिक प्रयोगले कामशक्तिमा ह्रास र महिलामा महिनावारि गडबडी हुनसक्छ । मरिचको अति प्रयोगले पेट दुख्ने, बान्ता, गुदमार्ग र मूत्रमार्गमा पोल्ने, रातो बिमिरा निस्किने आदि हुन सक्छ । पारीष वा पाकडले कृमि (पेटमा पर्ने जुका) उत्पन्न गर्न सक्छ । बर्रो र अमलाले लट्ठ्याउन सक्छ । शिग्रु वा सहिजन र भुत्तृण वा लेमनग्रासले वीर्य नाश गर्न सक्छ । हरेणुका, कलिहारी, सिसौ, रिट्ठाले गर्भपतन हुन सक्छ । 

आलस, गहत, निष्पाव (एक किसिमको भटमास)को प्रयोगले शुक्रकीट नाश गर्न सक्छ । त्रिपुट वा खेसारले हातखुट्टा लुलो बनाउन सक्छ । आलसको अहित प्रभाव दृष्टि शक्ति नाश, शुक्रनाश भनिएको छ । आजभोलि आलसको प्रयोग कोलेस्ट्रोल घटाउन बढ्दो प्रचलनमा छ तर मानिसले यसको नकारात्मक प्रभावबारे विचार गरेको पाइँदैन । गोकुल धूपबाट बनेका औषधि सेवन गर्दा अमिलो, पिरो, व्यायाम, श्रम, घाम, रिस त्याग्नुपर्छ भनेर भावप्रकाश निघण्टुमा उल्लेख गरिएको छ । लसुन सेवन गर्दा व्यायाम, रिस त्याग्नुपर्छ । अत्यधिक पानी, दूध र गुड पनि सेवन गर्नुहुँदैन ।आयुर्वेद औषधिको प्रयोग गर्दा एलोप्याथिक औषधि प्रयोग गरिरहेको अवस्थामा विशेष ध्यान पु¥याउन आवश्यक हुन्छ किनभने कतिपय आयुर्वेद औषधिको एलोप्याथिक औषधिसँग अन्तक्र्रिया भई दुष्प्रभाव उत्पन्न हुन सक्दछ । जस्तै– लसुनयुक्त औषधिको एन्टिकगुलेन्ट (रगत जम्नबाट रोक्ने) औषधिसँग प्रयोग गर्दा रक्तश्रावको सम्भावना हुनसक्दछ र लसुनले प्रोटिएज इन्हिबिटरजस्तै रगतमा मात्रा राइटोनाभिरको घटाउने र विषाक्तता बढाउने हुनसक्छ । मरिचमा पाइने पाइपरिनको एलोप्याथिक औषधिसँगको अन्तक्र्रियाबारे खास अध्ययन नभए पनि केही सामान्य अध्ययनले कारबामाजेपिन, डिक्लोफेनाक, फेनिट्विन, केटेकोनाजोलजस्ता औषधिको क्रियालाई बढाएको पाइएको छ । 

एक अध्ययनअनुसार बेसारको प्रयोग वाराफिन (रगत जम्नबाट रोक्ने औषधि) प्रयोग गरिरहेको बिरामीमा लामो समयसम्म प्रयोग गर्दा आईएनआर (इन्टरनेसनल नर्मलाइज्ड रेसियो) १० भन्दा बढी पाइयो, जसले गर्दा रक्तस्राव हुने सम्भावना बढी हुनसक्छ । तसर्थ यस्ता किसिमका औषधि खाने व्यक्तिमा बेसारको लामो समयसम्म औषधीय प्रयोग गर्दा विचार पु-याउनुपर्दछ । अदुवाको औषधीय प्रयोग गर्दा केही एलोप्याथिक औषधि जस्तै– वाराफिन, एस्प्रिनजस्ता रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको व्यक्तिमा गर्नु राम्रो हुँदैन किनभने अदुवाको रगत जम्नबाट रोक्ने असर हुन्छ, जसले ती औषधिको क्रियालाई बढाएर रक्तश्रावको सम्भावना बढाइदिन्छ । 

सबै आयुर्वेद औषधि वा जडीबुटी सुरक्षित वा दुष्प्रभावरहित हुन्छन् भन्ने आम बुझाइ सही होइन । कुनै पनि औषधि आफूखुसी प्रयोग गर्नु हुँदैन । स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह, परामर्शअनुसार मात्र औषधि प्रयोग गर्नुपर्दछ । स्वास्थ्यकर्मीले रोग, रोगी, काल, वय, दोष, प्रकृति आदि विचार गरेर मात्र औषधि सिफारिस गर्नुपर्दछ । सकभर क्रसप्याथी (दुई फरकफरक विधाका औषधिको एकसाथ प्रयोग)को अभ्यास गर्नु हुँदैन । बेसार, अदुवा, मरिच, धनियाँ, आलस, चनाजस्ता घरेलु स्तरमा प्रयोग गरिने मसला र खाद्य पदार्थको पनि अत्यधिक प्रयोगले अहित प्रभाव हुन सक्दछ । सामान्य रूपमा कब्जियतमा प्रयोग हुने त्रिफलाको पनि अहित प्रभाव हुन सक्दछ । पाइल्स वा अर्श रोगमा मुख्य रूपमा प्रभावकारी मानिने सूरण वा ओल पनि अत्यधिक रक्तश्राव हुने रक्तज अर्शमा प्रयोग गर्नु सुरक्षित मानिँदैन । तसर्थ आयुर्वेद औषधिहरू वा जडीबुटीको सुरक्षित प्रयोगबारे सजग हुनु आवश्यक छ । बरु जनचेतनाका लागि आयुर्वेद चिकित्साको फर्माकोभिजिलेन्स प्रणाली विकास गरिनुपर्छ ।