• १ कात्तिक २०८२, शनिबार

राष्ट्रिय परिचयपत्र दिन पुनः सुरु

blog

जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही । तस्बिर : नवराज कट्टेल

रङ्गेली समाचारदाता

विराटनगर, असोज ३१ गते   । निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलेर पुरानो संरचना ध्वस्त भएको थियो । त्यसयता मोरङबाट राष्ट्रिय परिचयपत्र बनाउने काम बन्द थियो । 

सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ट्रस्ट संरचना निर्माण गरिदिएसँगै सेवा सूचारु गरिएको हो । बुधबार नै सङ्घले जिल्ला प्रशासन कार्यालयलाई भवन हस्तान्तरणसमेत गरेको थियो । 

निर्माण व्यवसायी सङ्घ मोरङका अध्यक्ष महेशकुमार मिश्रले २० लाख रुपियाँ लागतमा तत्कालका लागि भवन निर्माण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले नागरिकको सेवा प्रदानका लागि सहयोगको आग्रह गरेको उहाँले बताउनुभयो । 

नागरिकसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय परिचयपत्रको लागि निर्माण व्यवसायीले गरेको योगदान महìवपूर्ण रहेको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार बिहान ७ देखि साँझ ७ बजेसम्म नागरिकलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्ने काम गरिने छ । अहिले विवरण मात्रै अद्यावधिक गर्ने काम गरिने र एक महिनापछिबाट परिचयपत्र उपलब्ध गराउने तयारीसमेत गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको जलेको भवनलाई सरसफाइ गरेर अहिले रङरोगन भइरहेको छ । यसमा समेत निर्माण व्यवसायीसहित नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले सहयोग गर्दै आएको छ । महासङ्घका कोशी अध्यक्ष राजेन्द्र राउतले यस अगाडि नै जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर व्यक्तिगत रूपमा सहयोगस्वरूप उपलब्ध गराउनुथियो ।