• १९ असार २०८१, बुधबार

नेपाली श्रमिक लैजान इजरायल सहमत

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १८ गते  । दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका नेपाली अब इजरायल जान पाउने भएका छन् । इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत  ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम राखे पनि नेपालीलाई इजरायल प्रवेश सहजीकरण गर्ने भनेसँगै छनोट भएका जानलाई बाटो खुलेको हो ।

यो सहजीकरण भएसँगै विगत छ महिनादेखि इजरायल जान नपाएका ८७८ जना श्रमिक अबको एक महिनाभित्र पठाइसक्ने गरी तयारी थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले इजरायली पक्ष नेपाली श्रमिक लैजाने विषयमा सहमत भएको जानकारी दिनुभयो । 

दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न छनोट भएका एक हजार १७५ जनामध्ये करार सम्झौता (एसईसी) सम्पन्न भई २९७ जना भने यसअघि नै इजरायल गइसकेका छन् । नेपालस्थित इजरायली राजदूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीको श्रम विवादका कारण छनोट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी श्रमिकको भिसा जारी गर्ने कार्यमा सहजीकरण गरेपछि प्रवेश खुला भएको हो ।