• ३१ असोज २०८२, शुक्रबार

पालिकास्तरीय भलिबल : चार टोली क्वाटरफाइलमा प्रवेश

blog

तमानखोला र बरेङ गाउँपालिकाका खेलाडि जितका लागि संघर्ष गर्दै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असोज ३१ गते ।
बागलुङमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगितामा बिहीबार भएका खेल जित्दै काठेखोला, बरेङ, निसी गाउँपालिका र गलकोट नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा बरेङले बागलुङ नगरपालिकालाई २५–२०, २४–२६, ३०– २८, २६–२८ र १६– १४ को सेटमा पराजित गरेर क्वाटरफाइनल यात्रा तय गरेको हो । अर्काे खेलमा निसीखोलाले ताराखोला गाउँपालिकालाई २५–२१, २५–२२, २५–१८ र २५– १६ को सेटमा पराजित गर्दै क्वाटरपफाइनल यात्रा तय गरेको हो ।

तेस्रो खेलमा जैमिनी नगरपालिकालाई सोझो तीन सेटमा पछि पार्दै गलकोट नगरपालिका पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । गलकोटले २५–१३, २५–२३ र २५– १४ को सेटमा जैमिनीलाई पराजित गरेको हो । यस्तै काठेखोलाले ढोरपाटनलाई पराजित गरेको थियो । काठेखोलाले २०–२५, २५–११, २५–२० र २५–२२ को सेटमा जित निकालेको हो ।

बिहीबार औपचारिक रुपमा प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले खेलले अनुशासन र इमान्दारिता सिकाउने बताउनुभयो । समाजले जन्मस्थानमा लगानी गरेर समाजको विश्वास जितेको थापाको भनाइ थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जन्मेको माटो र हिंडेको बाटो कहिल्यै बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय बागलुङ समाजका युवाहरुले पनि आफ्नो जन्मभूमि सम्झेर लगानी गर्न आएकोमा धन्यवाद दिँदै खेलबाट मात्र नेपालले संसारमा नाम चिनाउन सक्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय बागलुङ समाजले आफ्नो क्षेत्रमा लगानी बढाउने, खेल क्षेत्रमा युवाको आर्कषक बढाउने लक्ष्यले खेलको आयोजना गरेको समाजका सचिव राजु थापाले बताउनुभयो । समाजले हरेक दुई वर्षमा प्रतियोगिता गर्ने योजना बनाएको छ । नगरपालिका र भलिबल संघ तथा खेलकुद विकास समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।

दशवटा पालिकाबिच लिगकम नकआउट पद्दतीमा खेलाइएको छ । खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने द्वितीय हुनेले एक लाख तथा तृतीय हुनेले ५० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्टलाई पाँच हजारका दरले पुरस्कार दिइने छ भने सान्त्वना हुनेलाई २५ हजार रुपियाँ पुरस्कार दिइने आयोजकले जनाएका छन् ।