बुटवल समाचारदाता
बुटवल, असोज ३१ गते । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन सार्वजनिक हुँदै जाँदा रुपन्देहीका अदालतमा पनि ठुलो क्षति पुगेको खुलेको छ । प्रदर्शनले हिंसात्मक रूप लिएपछि सरकारी तथा निजी भवनसहित अदालतहरू पनि आगजनी र तोडफोडको सिकार बनेका थिए । त्यस क्रममा रुपन्देही जिल्ला अदालत र उच्च अदालत बुटवल इजलासमा रहेका अनेकौँ महत्वपूर्ण मुद्दाका फाइल र अभिलेख जलेर नष्ट भएका छन् ।
उच्च अदालत तुलसीपुर अन्तर्गत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आगजनीबाट करिब २१ हजार पुराना मुद्दाका अभिलेख पूर्ण रूपमा जलेका छन् । ती फाइलमा फैसला भइसकेका पुराना मुद्दा समावेश थिए । उहाँका अनुसार आगजनीपछि अहिले चालु मुद्दाका फाइल खोज्ने र सुरक्षित गर्ने काम तीव्र रूपमा भइरहेको छ । कुँवरले भन्नुभयो, “अदालतमा आएका सबै फाइलको समान महत्व हुन्छ, त्यसैले साना वा ठुला भनेर छुट्याउन सकिँदैन ।”
आगलागी र तोडफोडका बिच पनि केही संवेदनशील र चर्चित घटनासँग सम्बन्धित भएका मुद्दाका मिसिल भने जोगिएका छन् । अदालत प्रशासनका अनुसार रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी मुद्दाको फाइल सुरक्षित छ । साथै राजस्वसँग सम्बन्धित केही ठुला मुद्दाका फाइल पनि सुरक्षित रहेको जानकारी दिइएको छ । आगजनीका क्रममा इजलासभित्रका कुर्सी, कम्प्युटर र अन्य सामग्री जलेका थिए भने भौतिक संरचनामा पनि ठुलो क्षति पुगेको छ । प्रशासनका अनुसार भवन मर्मत र फाइल पुनः संरक्षणका लागि थप सहयोग आवश्यक छ ।
त्यसै गरी रुपन्देही जिल्ला अदालत भैरहवामा भने कुनै फाइल जलेको छैन । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार सबै मुद्दाका फाइल पूर्ण रूपमा सुरक्षित छन् । उहाँले भन्नुभयो, “जिल्ला अदालतका फाइलहरू उच्च र सर्वोच्च अदालतसम्म पुग्ने भएकाले हाम्रो प्राथमिकता तिनको संरक्षणमै केन्द्रित थियो ।” अर्यालका अनुसार अन्य अदालतको क्षति विवरण सङ्कलनको काम जारी छ ।
सर्वसाधारणको न्यायिक सेवामा असर नपरोस् भनेर दुवै अदालतले अस्थायी रूपमा फाइल व्यवस्थापन र कामकाज सुरु गरिसकेका छन् । प्रशासनले भने पूर्ण पुनर्संरचना र डिजिटल अभिलेखीकरण प्रणालीमार्फत भविष्यमा यस्ता क्षति दोहोरिन नदिन पहल सुरु गर्ने तयारी गरेको छ ।