काठमाडौँ, असोज ३१ गते । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधनले स्तब्ध भएको बताउनुभएको छ । काठमाडौँ कपनस्थित निवासमा ९२ वर्षको उमेरमा शेर्पाको बिहीबार निधन भएको थियो ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जलि एवम् शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुहुँदै प्रधानमन्त्री कार्कीले ऐतिहासिक आरोहणका प्रत्यक्ष साक्षी मात्र होइन, एक जीवित धरोहर गुमाएको बताउनुभयो ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिनु भएको सन्देशामा भनिएको छ, करिब साढे ७ दशक उहाँले उतिबेला मानवजातिकै एउटा विशेष उपलब्धि मानिएको घटनाको अनुभव पछिल्ला पुस्तालाई साटिरहनुभयो ।
यसैगरी, हालैका वर्षहरुमा शेर्पा हिमालमा जलवायु परिवर्तनको असर देखिन थालेकोमा चिन्तित हुनुहुन्थ्यो । त्यसप्रति संवेदनशील भएर काम गर्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ र अहिले हामी सबैको अभिभारा पनि त्यही नै रहेको उल्लेख उहाँले गर्नुभएको छ ।
सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्नुभएको थियो ।
उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नु भएको थियो ।
दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुका साथै शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा हुनुहुन्थ्यो ।