सन्तोष दहित
दाङ, असोज ३१ गते । जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेभित्र मात्र सम्पन्न गरिसक्ने जनाएको छ ।
त्यस्तै तिहारमा मादक पदार्थ सेवन नगरी मर्यादित ढङ्गले पर्व मनाउन, तथा सवारी साधन चलाउँदा ट्राफिक नियम पालन गर्न सबैलाई आग्रह गरिएको छ ।
शुभ–दीपावली (तिहार) र छठ पर्व २०८२ को अवसरमा जिल्लावासीलाई शुभकामना दिंदै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढालेले सामाजिक सद्भाव, सुरक्षा र शान्ति कायम गर्न निर्देशन जारी गर्नुभएको हो । पर्व शान्तिपूर्ण, सभ्य र मर्यादित तरिकाले मनाउन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ ।
उहाँले निकाले विज्ञप्तिमा आवश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा म्याद नाघेका सामान बिक्री वितरण गर्न नपाइने चेतावनी दिइएको छ। त्यस्तै, पटकपटक पटाका, आतसबाजी, अश्लील गीत–संगीतको प्रयोग र बिक्री रोक लगाइएको उल्लेख छ ।
त्यसैगरी, चाडपर्वका नाममा जुवा, तास र कुनै पनि प्रकारका सट्टेबाजी खेलकुदमा संलग्न हुन नहुने प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले सवारी साधनको सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र कुनै अवाञ्छित गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि अनुरोध गरेको छ ।
पत्रमा भनिएको छ, “चाडपर्वका अवसरमा शान्ति, सुरक्षामा असर पार्ने कुनै पनि कार्य नगर्नुहोस्। सबै जिल्लावासीले सभ्य र मर्यादित तरिकाले पर्व मनाउँछन् भन्ने हाम्रो अपेक्षा छ ।”