नारद कोहार
तौलिहवा(कपिलबस्तु), असोज २९ गते । कपिलबस्तुमा भर्मी कम्पोस्ट मल उत्पादन र यसको प्रभावकारी बजारीकरणका लागि सरोकारवाला बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग प्रवर्धन गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले भर्मी कम्पोस्ट को गुणस्तर र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा कृषि ज्ञान केन्द्रले यसको प्रचारप्रसार र बजार विस्तारमा सहकार्य गर्ने छ ।”
एग्रोभेट सञ्चालक रुपक गुप्ताका अनुसार भर्मी कम्पोस्ट मल रासायनिक मलको विकल्पमा प्रयोग गर्न समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिग्रिसकेको माटोलाई राम्रो बनाउन कम्तिमा तीन वर्षसम्म भर्मी कम्पोस्ट मलको प्रयोग गर्नु पर्ने बताउनुभयो ।”
कार्यक्रममा दलित समाजिक विकास केन्द्रद्वारा सञ्चालित जीवन सुधार परियोजनाका परियोजना अधिकृत रमेश कुर्मीले “भर्मी कम्पोष्ट मलको उत्पादन विधि, गुणस्तर, मापदण्ड र फाइदाहरू” विषयमा प्रस्तुति दिएका थिए । उहाँले जैविक मलले माटोको उर्वरता दीर्घकालीन रूपमा जोगाउने, फसल उत्पादनमा सुधार ल्याउने र वातावरणमैत्री कृषि प्रणाली विकासमा सहयोग पुर्याउने बताउनुभयो ।
त्यस्तै गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले स्थानीय तह, सहकारी र निजी क्षेत्रबिचको सहकार्य नै जैविक मलको प्रयोग विस्तारको प्रमुख उपाय भएको बताउँदै भर्मी कम्पोस्ट मललाई “स्थानीय उत्पादन, स्थानीय बजार र दीगो कृषि” को उदाहरणका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भर्मी कम्पोस्ट मल प्रयोग गरेका किसानहरूले आफ्ना अनुभव साझा गर्दै उक्त मलले माटोको गुणस्तर सुधार गर्नुका साथै फसल उत्पादनमा उल्लेखनीय वृद्धि भएको जानकारी गराएका थिए।
दलित सामाजिक विकास केन्द्रद्वारा आयोजना गरिएको कार्यक्रममा स्थानीय तह, निजी क्षेत्र, सहकारी र कृषक समूह लगायतको सहभागिता रहेको थियो । दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यमति पासीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासको स्वागतमा भएको हो ।