अमरराज नहर्की
तनहुँ, असोज ३० गते । आगामी तिहार पर्वलाई स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउन व्यास नगरपालिकाले प्लास्टिकका माला तथा कृत्रिम सामग्रीको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकका माला पूर्ण रूपमा निषेध गरी प्राकृतिक फूलबाट बनेका माला प्रयोग गर्न नगरवासीलाई अनुरोध गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार प्लास्टिकका माला र सजावटी वस्तुले वातावरणमा दीर्घकालीन हानि पुर्याउछन्, जसको असर सरसफाइ र सार्वजनिक स्वास्थ्य दुवैमा पर्न जान्छ । लम्सालले भन्नुभयो, “प्लास्टिकको माला एक दिनका लागि प्रयोग भए पनि त्यसको फोहोर वर्षौंसम्म नष्ट हुँदैन त्यसैले हामीले यो तिहारदेखि वातावरणमैत्री विकल्प प्राकृतिक फूलको माला प्रयोग प्रोत्साहन गर्ने निर्णय गरेका छौँ ।”
नगरपालिकाले यही अभियानअन्तर्गत कार्यालय परिसरमा पनि फूलको माला र जीविकोपार्जनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ । लम्सालका अनुसार यो निर्णयले फूल उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ ।
“हामीले नगरवासीलाई फूल उत्पादक किसानका माला खरिद गर्न प्रेरित गर्दैछौँ,” उहाँले थप्नुभयो, “यसले स्थानीय अर्थतन्त्रलाई चलायमान पार्नेछ र कृषकलाई नयाँ बजार अवसर दिनेछ ।”
व्यास नगरपालिकाले प्लास्टिकका वस्तुहरूको प्रयोग घटाउन यसअघि पनि अभियान सञ्चालन गर्दै आएको छ । यही सन्दर्भमा कात्तिक १४ गते बसेको बैठकले तिहार र अन्य धार्मिक अवसरमा प्लास्टिक वस्तु र कृत्रिम सामग्री प्रयोग नगर्न औपचारिक निर्णय गरेको थियो । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “व्यासलाई स्वच्छ र हरित वातावरणमैत्री नगर बनाउने अभियान अन्तर्गत कृत्रिम माला र प्लास्टिकजन्य वस्तुको प्रयोग नगर्न र प्राकृतिक फूलको माला प्रयोग गर्न अनुरोध गर्दछ ।”