स्पिन बोल्दाक, अफगानिस्तान, असोज २९ गते । अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीले बुधबार जनाएका छन् ।
दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो । स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालका अनुसार, झडपमा १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ । स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले एएफपीलाई जानकारी दिँदै भन्नुभयो, “झडपमा ८० भन्दा बढी महिला र बालबालिका घाइते भएका छन् ।”
तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै, पाकिस्तानी सुरक्षाकर्मीले ‘फेरि एक पटक हल्का र भारी हातहतियार प्रयोग गर्दै आक्रमण गरेको’ आरोप लगाएका छन् । उहाँका अनुसार, झडपमा १२ सर्वसाधारणको मृत्यु र एक सयभन्दा बढी घाइते भएका छन् । यद्यपि उक्त विज्ञप्तिमा सुरक्षाकर्मीको हताहतीको विषयमा केही उल्लेख गरिएको छैन ।
तालिबानले पाकिस्तानी सैनिक मारिएपछि स्थिति सामान्य बनिसकेको र पाकिस्तानी चौकी र हतियार कब्जामा लिइएको जनाएको छ । झडपको असरले गर्दा क्षेत्रका सबै पसल, बजार र सार्वजनिक सेवा बन्द छन् । धेरै स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ पलायन भएका छन्, एएफपीको स्थलगत रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर सुरक्षा स्रोतले उनीहरूले कुर्रम जिल्लाबाट अफगान क्षेत्रलाई लक्षित गरेको जनाएको छ, जुन स्पिन बोल्दाकभन्दा उत्तरतर्फ पर्दछ । यो हिंसात्मक घटना दुबै देशबिच हाल चलिरहेको कसिलो सम्बन्ध र आपसी आरोप-प्रत्यारोपको बिचमा भएको हो ।
इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानी तालिबान (टीटीपी) को आश्रय दिएको आरोप लगाउँदै आएको छ । झडपको सुरुवात शनिबार साँझ भएको थियो, जब काबुलले सीमा क्षेत्रमा पर्ने कम्तीमा पाँच प्रान्तमा सैन्य कारबाही सुरु गरेको थियो ।
तालिबानका अनुसार, बिहीबार काबुलमा भएको बम विस्फोटको जवाफस्वरूप पाकिस्तानले हवाई आक्रमण गरेपछि उनीहरूले प्रतिकारमा आक्रमण गरेका हुन् । आइतबार इस्लामाबादले कडा कारबाही गर्ने चेतावनी दिएपछि दुबै पक्षबिच झडप चर्किएको हो, जसमा दुवैतर्फ ठूलो सङ्ख्यामा हताहती भएको छ । रासस/एएफपी