राजन रावत
हुम्ला असोज २९ गते । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँका चोरीको बिगबिगी बढेको छ । चाडपर्वको अवसरमा घरधनी लेखका बस्तीमा बस्ने र गाउँका घर खाली भएको हुने भएका कारण चोरीका घटनाहरु बढेका हुन् ।
डाँडाफया बस्तीमा दसैँयता १८ घरमा चोरी भएको स्थानीय यज्ञबहादुर शाहीले बताउनुभयो । हालसम्मकै सबैभन्दा बढी चोरी भएको बताउदै उहाँले चाडपर्वको फाइदा उठाउने कार्य भएको बताउनुभयो ।
उहाँका अनुसार एउटै गाउँका कृष्ण शाही, नरबहादुर शाही, जनमनी विक, जानबहादुर शाही, अंगबहादुर शाही, चैते शाही, बली कामी, गोपी सिह, दिपक सिंह, धनबहादुर शाही, लंकबहादुर शाही, कृष्णबहादुर शाही, धने शाही, हर्के शाही, विशाल सिह, मन्दिर सिंह, अबिराम शाही लगायतका अठार घरमा चोरी भएको छ ।
आफ्नो घरबाट सुन र नगद चोरी भएको मन्दिर सिंहले बताउनुभयो । यसैगरी, भाडाकुडा, कपडा, लिउ फेरुवा, चार्जजर सोलार प्यानल, ब्याट्री लगायतका सामानहरु समेत चोरी भएको उहाँले बताउनुभयो ।
अन्नपात भने केही पनि चोरी नभएको बताउदै उहाँले दसैँको बेला बन्द गरिएका घरमा चोरी भएको बताउनुभयो । चोरी भएका सबै घरबाट गरी ५०–६० लाख रुपियाँ बराबरका नगद र अन्य जिन्सी सम्पत्ति चोरी भएको उहाँको भनाइ छ ।
डाँडाफया गाउँमा दुई तीन दिनको अन्तरमा धेरै घरमा चोरी भएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । चोरी भएको स्थानमा प्रहरी खटाइएको र स्थानीयसँगको सोधपुछपछि अनुसन्धान अगाडि बढाइएको जानकारी उहाँले दिनुभयो ।
यसैबिच सिमकोट गाउँँपालिका– ८ को सैपाल हिमाल माविमा पनि चोरी भएको वडा अध्यक्ष कमल बुढाले बताउनुभयो । विद्यालयमा भण्डार गरी राखिएको दिवा खाजाको खाद्यान्न चोरी भएको उहाँले बताउनुभयो ।