रसुवा समाचारदाता
रसुवा, असोज २९ गते । जिल्लामा बढ्दै गएका अनियमितता, भ्रष्टाचार र उत्तरदायित्वको कमीविरुद्ध रसुवाका युवा सक्रिय बनेका छन् । सुशासन र पारदर्शिता अभियान सञ्चालन गर्दै उनीहरूले गाउँपालिकामा सुधारका माग अघि सारेका छन् ।
रसुवा जिल्लाका पाँचै गाउँपालिकामा चरणबद्ध रूपमा सञ्चालन हुने यो अभियान अन्तर्गत युवाले गाउँपालिका कार्यालयमा पुगेर जनहितका मुद्दा र विकाससम्बन्धी माग प्रस्तुत गर्दै सचेतना फैलाउने तयारी गरेका छन् । असोज २२ गते आमाछोदिङ्मो गाउँपालिकामा जेनजी रसुवा समूहले शान्तिपूर्ण प्रदर्शन गरी स्थानीय विकास, सुशासन र युवाको सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् । युवाले अस्थायी अवस्थामा रहेको गाउँपालिका भवनलाई निर्धारित स्थानमा स्थायी र सुरक्षित रूपमा पुनर्निर्माण गर्न, हरेक आर्थिक वर्षमा बढ्दै गएको बेरुजु नियन्त्रण गर्न र दक्ष तथा इमानदार कर्मचारी नियुक्त गर्न आग्रह गरेका छन् ।
यसै गरी तामाङ सम्पदा मार्ग अन्तर्गत पार्वतीकुण्ड, ब्याल भिलेज, तातोपानी र नागथली क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न, गाउँपालिकाभित्र प्रयोग भएका सवारीसाधनको दुरुपयोग छानबिन गर्न र कर्मचारी सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने मागसमेत युवाले अघि सारेका छन् ।
नौकुण्ड गाउँपालिकाका जेनजी समूहका युवाले भवन तथा पूर्वाधार निर्माणमा गुणस्तर कायम राख्न, दक्ष जनशक्ति व्यवस्थापन गर्न, स्थानीयलाई प्राथमिकता दिन र सबै योजनामा डिपिआर अनिवार्य गर्ने माग गरेका छन् ।
किसानलाई उत्पादनमुखी बनाउन सहयोग पु-याउने वातावरण सिर्जना गनुपर्ने सुझाव दिँदै प्रमुख प्रशासकीय अधिकृत सूर्य तामाङलाई ज्ञापनपत्र बुझाएका छन् । समूहका सदस्य युवराज लामिछानेका अनुसार उक्त पहल कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध नभई गाउँपालिकाको सुधार र जनहितका पक्षमा एकीकृत आवाज भएको बताउनुभयो ।