सुधा देव
भारदह (सप्तरी), असोज २९ गते । सप्तरीमा एक हजार एक सय ४३ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि २७ गतेसम्मसात सय ७९ पुरूष, तीन सय ६४ महिला र सात जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार योसँगै जिल्लामा मतदाताको सङ्ख्या चारलाख १९ हजार नौ सय २५ पुगेको छ । यसअघि जिल्लामा मतदाताको सङ्ख्या चार लाख १८ हजार सात सय ८२ रहेको थियोे । जसमध्ये पुरूष दुई लाख १८ हजार एक सय २४ र महिला दुई लाख ६ सय ३७ जना रहेको उहाँले जानकारी दिनुभएको छ ।
जिल्लामा मतदाता नामावली दर्ता गर्ने अधिकांश नयाँ रहेको र उनीहरूमा मतदाता नामावली प्रति उत्साह देखिएको उहाँले बताउनुभयो । मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया सुरू भएदेखि निरन्तर नाम दर्ता गराउन आउनेक्रम जारी रहेको छ ।
असोज ३१ गतेसम्ममा मतदाता नामावलीमा नाम दर्ता गराउने सङ्ख्यामा वृद्धि हुन सक्ने उहाँले बताउनुभयो । यसअघि छुटेकाहरू केही र नयाँ मतदाताहरू बढी आउने गरेको जानकारी उहाँले दिनुभयो ।