• २८ असोज २०८२, मङ्गलबार

चाडपर्वको बेला अशान्ति हुने कुनै पनि काम नगर्न प्रहरीको अपील

blog

वडा प्रहरी कार्यालय नेपालगन्ज र जारी अपील । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज २८ गते ।
नेपालगन्जस्थित प्रहरीले चाडपर्वको समयमा अशान्ति हुने कुनैपनि काम नगर्न सर्वसाधारणसँग अपील गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले आसन्न महान चाड दीपावली, तिहार र छठपर्व तथा नेपाल संवत ११४६ लाई ध्यानमा राखेर एक अपील जारी गर्दै अशान्ति हुने कुनैपनि कार्य कसैले पनि नगर्न अनुरोधका साथै शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सहयोग मागेको हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा जारी गरिएको अपीलमा प्रहरीले आतिशबाजी, पटका, विस्फोटक पदार्थ तथा अशान्ति फैलाउने कार्य नगर्न, ठुलो आवाजमा साउन्ड सिस्टम वा स्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न र बजारमा कृत्रिम अभाव वा कालोबजारी सिर्जना नगर्न सचेत गराएको छ ।

जनहीतमा जारी सन्देश नाम दिइएको सो अपीलमा यात्राका दौरान कुनैपनि समस्या परे नजिकको प्रहरीलाई तुरुन्त खबर गर्न आग्रह गर्दै सवारी साधन सीमित गतिमा मात्र चलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध गरिएको छ ।

अपीलमा भनिएको छ, “समाजमा होहल्ला, झगडा, जुवातास जस्ता गतिविधि नगर्नु, सार्वजनिक स्थान वा सडकमा शङ्कास्पद वस्तु वा गतिविधि देखे प्रहरीलाई जानकारी गराउनु, साथै लामो समय घर बन्द राख्दा वा पैसा–गहना छोड्दा पनि प्रहरीलाई जानकारी गराउन अनुरोध छ ।”

प्रहरीले चाडपर्वको नाममा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पु¥याउने कुनैपनि कार्य नगर्न समेत आग्रह गरेको छ । दीपावलीका बेला दियो, मैनबत्ती तथा झिलिमिली बत्ती तथा बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउन पनि सबैसँग आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जनसहयोग र आपतकालीन अवस्थाका लागि प्रहरीको आपतकालीन नम्बरहरु १०० र मोबाइल नम्बर ९८५८०९०२९९ एवम् कार्यालय प्रमुखको सम्पर्क नम्बर ९८५८०९०३९९ मा सम्पर्क गर्न नम्बरहरु समेत वडा प्रहरी कार्यालय नेपालगन्जले सार्वजनिक गरेको छ ।