• २८ असोज २०८२, मङ्गलबार

आधा दर्जन सरकारी कार्यालय पुनः प्रयोग गर्न नमिल्ने

blog

पुनः प्रयोग गर्न नमिल्ने गरी ध्वस्त भएको मालपोत कार्यालय भरतपुरको भवन । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असोज २८ गते  । चितवनका आधा दर्जन सरकारी कार्यालयमा पुनः प्रयोग गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसिएको छ । जेनजी समूहको आन्दोलनका व्रmममा भएको आगजनीका कारण सङ्घीय र स्थानीय पालिकाको कार्यालय गरी आठ वटा भवन पुनः प्रयोग गर्न नमिल्ने भएको हो ।

भवनको अहिले पनि पुनः प्रयोग गर्न मिल्ने नमिल्नेमा अध्ययन भने भइराखेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्राविधिकले गरेको अध्ययनमा सङ्घतर्फको एउटा भवन मात्र प्रयोग गर्न नमिल्ने गरी ध्वस्त भएको हो । प्रदेश सरकार अन्तर्गतका भवन तथा स्थानीय पालिका कार्यालय अन्तर्गतका भवन पनि प्रयोग गर्न नमिल्ने भएका छन् । भरतपुर महानगरपालिका कार्यालय अन्तर्गत वडा कार्यालयहरू पुनः प्रयोग गर्न नमिल्ने गरी ध्वस्त भएका छन् । भरतपुर महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सात वटा वडा कार्यालय पुनः प्रयोग गर्न नमिल्ने गरी नोक्सान भएको बताउनुभयो । ती वडा कार्यालय पुनः प्रयोग गर्न नमिल्ने भएपछि भाडामा कार्यालय सञ्चालन भइराखेको जानकारी दिनुभयो । महानगरपालिकाको मुख्य प्रशासनिक कार्यालयमा पनि आगलागीबाट बस्न नसक्ने भएपछि नगर प्रहरी बस्ने टहराबाट कार्यालय सञ्चालन भइराखेको बताउनुभयो । “पालिकाका अन्य साना टहरा, चौरलगायतका स्थानबाट सेवा दिएका छौँ,” उहाँले भन्नुभयो, “जलेकै भवनमा सरसफाइ गरेर सेवालाई निरन्तरता दिएका छौँ ।”  

सङ्घीयमातहतको कार्यालय अन्तर्गत मालपोत कार्यालय भरतपुरको भवनमा रातो स्टिकर टाँसिएको छ । यो भवन पुनः प्रयोग गर्न मिल्दैन । २०७२ को भूकम्पपछि गरिएको अध्ययनमा पनि रातो स्टिकर लगाइएको पुरानो भवन आन्दोलनका व्रmममा आगजनी भएपछि भवनको भित्रबाहिर सिमेन्टको प्लास्टर उप्किएको छ भने भित्रको ढलान फुटेर भाँचिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी द्रोण कटुवालले मालपोत कार्यालय पुनः प्रयोग गर्न नमिल्ने गरी ध्वस्त भएको जानकारी दिनुभयो । “यो भवनमा पुनः प्रयोग गर्नका लागि मर्मत गरेर नहुने भएपछि रातो स्टिकर टाँसिएको छ,” उहाँले भन्नुभयो, “अब भत्काएर अर्को नयाँ भवन बनाउनुपर्ने हुन्छ ।”

कार्यालयका ९९ प्रतिशत कागजपत्र जलेर नष्ट भएको मालपोत कार्यालय भरतपुरका प्रमुख रमेश गौतमले जानकारी दिनुभयो । कागजसहित भवन पनि काम नलाग्ने गरी ध्वस्त भएकाले मुख्य भवनपछाडि रहेको टिनको टहरोलाई मर्मत गरेर त्यहीँबाट कार्यालय सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । पुरानो भवननजिक हिँडडुल गर्नलाई समेत जोखिम भएको प्रमुख गौतमले बताउनुभयो । आगजनीपछि सिमेन्ट प्लास्टर, इँटा झर्ने गरेको बताउनुभयो । सङ्घीय सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरका अनुसार चितवनमा मालपोतलगायत १५ वटा सङ्घीय कार्यालयमा तोडफोड र आगजनी भएको छ । जसमध्ये मालपोतमा रातो स्टिकर टाँसिएको हो भने पाँच वटामा पहेँलो र सात वटामा हरियो स्टिकर टाँसिएको छ । दुई वटा कार्यालयमा तोडफोड मात्रै भएको र सामान्य क्षति पुगेको थियो ।

हरियो र पहेँलो स्टिकर लगाइएका भवन प्रबलीकरण गरी प्रयोगमा ल्याउन सकिने कटुवालले जानकारी दिनुभयो । १५ वटा कार्यालयको भवनका लागि २८ करोड रपियाँ माग गरिएको छ । मालपोत कार्यालयको भवन पुनर्निर्माणका लागि करिब १० करोड रुपियाँ माग गरिएको छ । त्यस्तै राजस्व कार्यालयका लागि तीन करोड, शिक्षा विकास तथा समन्वय, सरकारी वकिल र अदालतका लागि एक÷एक करोड रुपियाँ माग गरिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कृष्णकुमार महर्जनले थप विज्ञ र प्रविधिको प्रयोग गरी भवनको विस्तृत अध्ययन गर्ने जानकारी दिनुभयो । विभागको परिपत्रका आधारमा क्षति भएको भवनको मूल्याङ्कन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थप इक्युपमेन्ट प्रयोग गरेर भवनको भित्री क्षतिको विस्तृत अध्ययन गरिने तयारी भएको छ । रत्ननगर नगरपालिकाको पनि मुख्य प्रशासनिक र १६ वटै वडा कार्यालयमा क्षति भएको छ । भवनमा हालसम्म स्टिकर टाँसिएको छैन । नगरपालिकाका अनुसार सबै भवनमा गरी करिब २५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।